४३ वर्षपछि नामटार कालिकाटार सडकको स्तरीकरणको पहल

तामसालिङ खबर
४ फाल्गुन २०७९, बिहीबार १७:३७

फाल्गुन, हेटौडा (कैलाश) – मकवानपुरको ग्रमीण बस्तीहरू अहिले पनि सडक सम्पर्कबाट टाढा छन् । गाउँलाई सदरमुकाम सम्म जोड्ने सडकहरू निर्माण सुरू भएका छन् तर पूरा हुन सकेका छैनन् । निर्माण सुरू भएका कतिपय सडकहरू बिचमै अलपत्र परिरहेका छन् ।

मकवानपरको कैलाश गाउँपालिकाको चुनियाँ नामटार हुँदै कालिकाटार सम्मको सडकको अवस्था अहिले पनि नाजुक छ । २०३७ सालमा निर्माण भएको सडकको अवस्था अहिले झन् नाजुक देख्दा यो देशमा विकासको काम कुन गतिमा भइरहेको छ भन्ने कुराको पुष्टि हुन्छ ।

कालिकाटारदेखि चुनियाँसम्म आइपुग्न अहिले हिउँदमा समेत सर्वसाधारणलाई हम्मेहम्मे पर्छ । अप्ठ्यारो बाटो, त्यसमाथि साँघुरो अनि खाल्डाखुल्डी र धुलोले सडक नै पुरिएका कारण मोटरसाइकल चलाउनेहरू ज्यान माया मार्दै आइपुग्छन् ।

४३ वर्ष अगाडि निर्माण भएको सो सडकको अहिलेसम्म पनि न स्तरीकरणको काम भएको छ न त यसको स्तरीकरणको प्रयास नै यसअघिका जनप्रतिनिधिले गरे । कैलाश गाउँपालिकाका अध्यक्ष लोक मोक्तान सडक स्तरीकरणका लागि पहिलेका जनप्रतिनिधिले पहल नै नगरेको बताउनुहुन्छ ।

मोक्तान भन्नुहुन्छ, ‘धेरै पटक यहाँबाट निर्वाचन जितेर धेरै गए तर कसैले पनि यो सडकको बारेमा चासो रखेको पाइएन । अहिले मैले पहल गरिरहेको छु ।” गाउँपालिकाबाट सम्भव हुने काम पालिकाबाट र नहुने कामका लागि प्रदेश सरकार मार्फत पहल गरिरहेको मोक्तानले बताउनुभयो ।

प्रदेश सरकारलाई पटक-पटक आफूले बताउँदै आएको कारणले अब भने प्रदेश सरकार काम गर्ने अवस्थामा पुगेको उहाले बताउनुभयो । चुनियादेखि कालिकाटारसम्म सडक स्तरोन्नतिको काम प्रदेश सरकारले गर्ने हो तर अहिले ठेक्का पनि भएको छैन । चुनियाबाट भाल्टारसम्म साँढे तीन किलोमिटर सडक स्तरीकरणका लागि ४ करोडको ठेक्का भइसकेको मोक्तानले बताउनुभयो ।

नामटार देखि कालिकाटार सम्म सडक स्तरीकणका लागि आफूले प्रदेश सरकारसँग कुरा गरिसकेको मोक्तानले बताउनुभयो । ‘भाल्टार कुमल्टार साँढे ९ किलोमिटरको डिपिआर हुन्छ । प्रदेश सरकारले गर्छ । बिचको साँढे तीन किलोमिटर चाँही डिपीआर छुट्याएको रहेछ । त्यो चाहिँ गाउँपालिकाले पहल गर्छ ।’ मोक्तानले भन्नुभयो । चुनियादेखि नामटारसम्म कालोपत्रे गरौँ भन्दा प्रदेश सरकारले बजेट छैन भनिरहेको मोक्तानले बताउनुभयो ।

बागमती प्रदेशको सडक निर्माणसम्बन्धी काम गर्ने निकाय भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र चौधरीले भने चुनिायँदेखि नामटार कालिकाटार कैलाश सडकको काम हुने अवस्थामा रहेको बताउनुहुन्छ । उहाँले चुनियाँँदेखि नामटार सम्मको ७ किलोमिटर स्तरीकणको काम भइसकेको बताउनुभयो ।

चुनिायँदेख कालिकाटार सम्मको १३ किलोमिटर सडकको स्तरीकरणका लागि सर्भे भइसकेको र यसलाई बहुवर्षीय बनाउनका लागि डीपीआर आइनसकेको बताउनुभयो । डीपीआर आएपछि कति किलोमिटर सडक बनाउने भन्ने निश्चित हुने बताउनुभयो । यो महिनाभित्रमा डीपीआर आइसक्ने चौधरीले बताउनुभयो । – निगरानी अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*