एपीएफलाई हराउँदै मनाङ मर्स्याङ्गदी फाइनल
फाल्गुन, हेटौंडा – हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्गदी क्लब फाइनल प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमीफाइनल खेलको निर्धारित समय गोलरहित बराबरी भएपछी एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मनाङ मर्स्याङ्गदी क्लब प्रवेश गरिएको हो।
टाइब्रेकरमा मनाङले एपीएफलाई ४-२ गोलअन्तरले पराजित गरेको हो । मनाङका सरोज योञ्जन लामा, विसन गुरुङ, सैजा बोल र आशिष गुरुङको प्रहार गोलमा परिणत हुँदा एपीएफका नवीन लामा र सुदीप शिख्राकारको प्रहार गोलमा परिणत भए पनि सनी श्रेष्ठको प्रहार बारमा लागेर आकाशियो भने दिपेश धिमालको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले रोके । सेमीफाइनल खेलको म्याद अफ द म्याच मनाङका गोलरक्षक कार्की नै घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
क्वार्टरफाइनलमा साविक विजेता त्रिभुवन आर्मीलाई पाखा लगाउन दुईवटा पेनाल्टी रोकेका एपीएफका राजु नगरकोटीले मनाङका खेलाडीको प्रहार रोक्न सकेनन् । भोलि सोमबार हिमालयन शेर्पा क्लब र एभिनियर क्लबबीच दोस्रो सेमीफाइनल खेल हुनेछ । फाइनल खेल बुधबार हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ । बुलेट बाइकको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको हो ।






