दामनको ऋषेश्वर मन्दिर (छ्युमी झ्याङछुप) परिसरमा बिश्व शान्ति महायज्ञ पुजा हुने

फाल्गुन, हेटौडा (थाहा नगर) – मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिका ४ दामनमा स्थित छ्युमी झ्याङछुप (ऋषेश्वर महादेव मन्दिर) परिसरमा २ दिने बृहत विश्व शान्ति महायज्ञ हुने भएको छ।
बौद्ध र हिन्दु धर्मावलम्बीहरुको पबित्र तिर्थस्थल ऋषेश्वर महादेव मन्दिर अर्थात छ्युमी झ्याङछुप परिसरमा यही फागुन १६ र १७ गते बृहत विश्व शान्ति महायज्ञ पुजा आयोजना हुने भएको छ।
धर्म, संस्कृतिको संरक्षण एवम् उक्त तिर्थ क्षेत्रको प्रचारप्रसार र बिकासको अभियानको थालनी गरेपछि अन्य स्थानका लामा गुरुहरु र धार्मिक संगठनहरुको सहकार्यमा विश्व शान्ति महायज्ञ अभियानलाई थप सक्रिय बनाउदै अघि बढेको प्रमुख लामा पवन तितुङले बताउनुभयो ।
प्रमुख लामा तितुङ्गको अनुसार यसअघि पनि महायज्ञ पुजा दुईपटक सम्पन्न भैसकेको र यो पुजा तेस्रोपटक आयोजना गरिन लागेको बताउनुभयो। बिश्व शान्ति पुजाको प्रमुख उद्देश्य भन्नू नै धर्म,संस्कृतिको रक्षा, बिश्व शान्ति एवम् छ्युमी झ्याङछुप (ऋषेश्वर) तिर्थ क्षेत्रको सम्पुर्ण बिकास गर्नु रहेको लामाले बताउनुभयो ।
लुम्बिनी विश्वविद्यालयका बुद्धिजम तथा पिस स्टडिजका उपप्राध्यापक पुष्पबहादुर गुरुङका अनुसार सातौँ शताब्दीमा पदमसम्भव काठमाडौँ हुँदै चीन जाने क्रममा दामन र फर्पिङमा बसेर गएको विश्वास गरिन्छ । उनी भन्छन्, ‘यो गुफालाई हिन्दु धर्मावलम्बीले भन्दा पनि बुद्धिष्टहरुले बढी विश्वास गर्ने गरेका छन्, यो गुफालाई दुवै धर्मको तिर्थस्थलका रूपमा लिने गरिएको छ ।’
पदमसम्भव गुरु आएर ऋषेश्व्मा ध्यान गर्न बसेको लामा गुरु निमा लामा बताउँछन् । उनी भन्छन्–‘ उहाँ बस्नुभएको स्थानमा उहाँकै आकृति बनेको छ, यो आकृतिलाई हिन्दु र बौद्ध दुवै थरीले पूजापाठ गर्ने गर्छन् ।’ पदमसम्भवले तपस्या गर्ने क्रममा पानीको अभाव भएपछि ध्यान गरेर पानी निकालेको समेत बताइन्छ । मन्दिर परिसरमा पानी अझैसम्म अनवरत रुपमा मुलको रुपमा आइरहेको छ ।
यस पबित्र स्थानमा लामाहरू टाढा-टाढाबाट आएर लोसुम धोसुम (तीन वर्ष तीन महिना) को तपस्यामा बस्ने गर्छन् । लामाहरू तीन वर्ष तीन महिनासम्म पनि यहाँ तपस्या गर्छन् । हिन्दु धर्मावलम्बीले ऋषेश्वर महादेव र बौद्धमार्गीले पदमसम्भव (छ्युमी झ्याङछुप) का रूपमा यहाँ पूजा गर्दै आएका छन् ।