खाल्डेबजारमा सुरक्षित आप्रवासन सम्बन्धी सूचनामूलक बाेर्ड स्थापना

तामसालिङ खबर
१४ फाल्गुन २०७९, आईतवार १७:५३

फाल्गुन, हेटौडा (थाहा नगर) – वैदेशिक रोजगारी प्रति नेपालीहरु बढी आकर्षित छन् । गाउँ शुन्य पारेर परदेशिने युवाहरुको संख्या बढ्दो छ । दिनहुँ नेपालबाट मुटु कलेजो, फोक्सो जाँचेर र पाखुरा छाती नापेर २५०० बढी स्वस्थ्य तथा तन्दुरुस्त युवाहरु विदेशिन्छन् ।

दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेका युवाहरुको प्रमुख गन्तव्य बनेको छ, विदेश । नेपाली कामदारहरुको रोजगारीको आकर्षक गन्तब्यको रुपमा रहेका मुलुकहरुमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन् ।

अमेरिका अस्ट्रेलिया क्यानडा लगायतका मुलुकहरूमा पनि नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

वैदेशिक रोजगारीमा जाँदा धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । वैदेशिक रोजगारीमा जाने बेला सानातिना कुराहरुको वेवास्ता गर्दा कहिलेकाही ठूलो समस्या झेल्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिएको, विदेशमै अलपत्र परेको, एक ठाउँ भनि जाँदा अर्कै ठाउँ परेको, भनेजस्तो तलब नपाएको जस्ता गुनासाहरु धेरै आउने गरेको पाइन्छ । कतिपय व्यक्तिहरुलाई आफुले गर्ने काम, तलब र सुविधाका बारेमा समेत थाहा हुँदैन । जसले गर्दा उनीहरु ठगिने गरेका छन् ।

त्यसैले वैदेशिक रोजगारीमा जानुअघि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्ता विदेश जानुअघि ध्यान दिनुपर्ने कुराहरु र गर्नुपर्ने मुख्य कामहरुलाई समेटेर थाहा नगरपालिका सुरक्षित आप्रवासन कार्यक्रम सामीले वडा नम्बर २ कार्यालयसँग मिलेर खाल्डेबजारमा सूचनामूलक बाेर्ड राखेकाे छ ।

सूचना तथा जानकारीमूलक बाेर्डमा वैदेशिक रोजगारमा जाने कामदारहरुले आफु कुन देश जाने हो सो देशबारे जान्नुपर्ने, केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानुपर्ने, घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्ने, देशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जानुपर्ने, विश्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फत् जानुपर्ने, पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनुपर्ने, भरपाइ दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नुपर्ने, स्वदेशी विमानस्थलवाट मात्र जानुपर्ने, लगायतका बारेमा सचित्र जानकारीहरु राखिएका छन् ।

बाेर्ड स्थापना कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, सामीका फाेकल पर्सन थाहा नगरपालिकाका अधिकृत कुमार नेगी, सामी वित्तीय साक्षरता सहजकर्ता मेलिना खत्री, सामी मनाेसामाजिक परामर्शकर्ता सुनिता बस्नेत, रिटर्नी स्वयम्सेवक सुस्मिता श्रेष्ठ लगायत स्थानीय समुदायकाे सहभागिता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*