सिन्धुलीकी पासाङ याङ्जीले जितिन्, मिस तामाङको उपाधि

तामसालिङ खबर
२१ फाल्गुन २०७९, आईतवार ०७:०५

फाल्गुन, काठमाडौ – मिस तामाङको १५ औं संस्करणको उपाधि सिन्धुलीकी पासाङ याङ्जी वाइबा तामाङले हात पारेकी छिन् ।

शनिबार राष्ट्रिय सभागृहमा आयोजित प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछि पार्दै याङ्जी मिस तामाङ २०२३ को ताज जितेकी हुन् । अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ ? उत्कृष्ट १० हुँदै अन्तिम पाँचमा पर्न सफल उनले यही प्रश्नको जवाफ दिँदै निर्णायकको मन जित्न सफल भएकी थिइन्। निर्णायकको प्रश्नमा याङ्जीको जवाफ थियो, जो मान्छेसँग मोबाइल र नेटको पहुँच नै छैन उनीहरु पनि बलात्कारका आरोपी छन्। सजाय भोगिरहेका छन्।

त्यसैले अश्लील साइट बन्द गर्नुभन्दा घर समाजमा नैतिकता सिकाउनुपर्ने र सरकारले बलात्कारीका लागि कडा भन्दा कडा सजायको कानुन बनाउनुपर्छ। सिन्धुली कमलामाई वडा ९ की उनलाई प्रमुख निर्णायक नायक रमेश उप्रेतीले अवार्ड प्रदान गरे भने २०१७ की फस्ट रनरअपसमेत रहेकी नवाङ मोक्तानले ताज पहिराईदिइन्।

पासाङले प्रतिस्पर्धामा मिस डिसिप्लेनको टाइटलसमेत हात पारेकी थिइन्। प्रतियोगितामा फस्ट रनरअपको उपाधि सुशीला मार्फा तामाङले पाउँदा सेकेन्ड रनर अप भने सिर्जना गोले तामाङ बनिन्। सिर्जनाले मिस मल्टिमिडिया टाइटल पनि हात पारिन्।

प्रतियोगितामा बिनिता लुङ्बाले मिस अनलाइन भोटिङ, पूजा दोङले मिस ट्यालेन्ट, मेलिना योञ्जनले बेस्ट ड्रेस, सिया घिसिङले मिस पपुलर र मिस पर्सनालिटी, प्रनिसा तामाङले मिस ब्युटिफूल हेयर र सबिना तामाङले मिस फोटोजेनिक टाइटल पाएका थिए।

मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको यो मिस तामाङको १५ औं संस्करण हो। नयाँ पुस्तामा तामाङ संस्कृति, भाषा तथा भेषभुषा हस्तान्तरणका लागि यसखाले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी निर्देशक रञ्जिता लामाले बताइन्। फिनालेमा रोज मोक्तान, उत्तर लामा, सागर वाइबालगायतले सांगीतिक प्रस्तुति दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*