७ महिनापछि भेटियो, धवलागिरिमा बेपत्ता भएको शव

बैशाख, म्याग्दी – धवलागिरी हिमालमा बेपत्ता भएका एक पर्यटक र मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका १ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए ।
गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छ”, उनले भने, “नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ ।”
शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाडौँको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनी मार्फत विदेशी पर्यटक लिएर धवलागिरी आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए ।