तामाङ पत्रकार संघको राष्ट्रिय भेला सम्पन्न‚ १० लाखको अक्षयकोष घोषणा

जेठ, काठमाडौ – तामाङ पत्रकार संघको आयोजनामा तामाङ पत्रकारहरूको दुई दिने राष्ट्रिय भेला शनिवार सम्पन्न भएको छ । शुक्रवार र शनिवार काठमाडौमा भएको उक्त भेलाको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गरिएको थियो ।
भेलाको पहिलो दिन कार्यक्रम उद्घाटन सँगै प्रदेश तथा जिल्लाका प्रतिनिधिबाट रिपोर्टिङ र त्यसमाथि छलफल गरिएका थिए । सोही दिनको अन्तिम सत्रमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासङ्घका सल्लाहकार सदस्य वंशलाल तामाङ सँग ‘स्थानीय तहमा तामाङ समुदायको मुद्दा र कार्यान्वयनको अवस्था’बारे अन्तरक्रिया गरियो ।
दोस्रो दिन शनिवार तीन जना विज्ञहरूबाट प्रशिक्षणात्मक प्रस्तुति दिएका थिए । तामाङ पत्रकार संघका सल्लाहकार एवं पूर्वअध्यक्ष जगतमान लामा दोङले ‘तामाङ पत्रकार संघको साङ्गठनिक विकासक्रम र वर्तमान नेतृत्वको कार्यभार’ शीर्षकमा प्रस्तुति दियो । संघका सल्लाहकार वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले ‘तामाङ आदिवासी जनजातिको मिडिया सरोकार’ शीर्षकमा प्रस्तुति राखेका थिए । संघका सल्लाहकार वरिष्ठ पत्रकार अमरध्वज लामाले ‘तामाङ पत्रकारको क्षमता अभिवृद्धि र स्रोत पहिचान’ शीर्षकमा प्रस्तुति दिए ।
त्यस्तै, बागमती प्रदेश प्रेस रजिष्ट्रार कार्यालयका सञ्चार रजिष्ट्रार रेवती सापकोटासँग ‘मातृभाषा पत्रकारिता विकासमा प्रेस राजिस्ट्रार कार्यालयको भूमिका’ शीर्षकमा अन्तरक्रिया सम्पन्न गरियो । उनले मातृभाषा संरक्षणका लागि भाषालाई डिजिटालाइज गर्नुपर्ने धारणा राखेका थिए । मातृभाषा पत्रकारिता विकासका लागि योजना बनाई कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता समेत उनले जनाए ।
भेलामा संघको कोशी र बागमती प्रदेश समिति, २२ वटा जिल्ला शाखा र प्रवास शाखा (दक्षिण) कोरियाका पदाधिकारी/प्रतिनिधिहरू सहभागी थिए ।
त्यस्तै गरि, राष्ट्रिय भेलाको अवसरमा १० लाख रुपैयाँको ‘तामाङ पत्रकार अक्षयकोष’ घोषणा गरिएको छ । उक्त कोषबाट आउने ब्याज रकमबाट तामाङ पत्रकारहरूको वृत्ति विकास तथा उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक वर्ष एक जनालाई ५० हजार रुपैयाँ राशिको ‘पहिचानमूलक तामाङ पत्रकारिता लेखन वृत्ति’ दिने भएको छ।
प्रत्येक वर्ष दुई जनालाई १०–१० हजार रुपैयाँ राशिसहित ‘तामाङ मिडिया अवार्ड’ र संघका पूर्वउपाध्यक्ष स्व. दीपेन्द्र दोङ तामाङको स्मृतिमा प्रत्येक वर्ष एक जनालाई १० हजार रुपैयाँ राशिको ‘दीपेन्द्र दोङ तामाङ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्नेछ ।