साहसिक पर्यटनको लागि दोलखामा ‘सोक्ला रक क्लाईम्बिङ महोत्सव’ हुने
जेठ, दोलखा – दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर २ सोक्लामा ‘सोक्ला रक क्लाईम्बिङ महोत्सव २०८०’ हुने भएको छ ।
यहि जेठ १८ र १९ गते सोक्लामा हुने सोक्ला रक क्लाईम्बिङ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिनुभयो । महोत्सवमा सोक्ला रक क्लाईम्बिङको उद्घाटन सँगै इच्छुकहरुले निःशुल्क रक क्लाईम्बिङको अनुभव गर्न पाउने भएका छन् ।
साहसिक पर्यटनको रुपमा लिईने सोक्ला रक क्लाईम्बिङले सोक्लाको पर्यटन विकासमा ठुलो सहयोग पुग्ने अध्यक्ष पाख्रिनको विश्वास रहेको छ । सोक्ला रक क्लाईम्बिङमा नेपाल प्रहरी, नेपाली सेना र विपद् व्यवस्थापनको टोलीलाई तालिम तथा अभ्यासस्थलको रुपमा समेत प्रयोग गर्न सकिनेछ ।
माउन्टेण्ड गाईड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जिव गुरुङ, उपाध्यक्ष तथा ८ औं पटक सगरमाथा आरोहण गरिसक्नुभएका पासाङ भोटे र महासचिव रामकाजी तिवारीको टिमले सोक्ला रक क्लाईम्बिङको २ वटा रुट निर्माण गरीसकेको छ । २५/२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट जेठ ११ गतेदेखि १४ गतेसम्म तयार गरीएको हो ।
सोक्ला रक क्लाईम्बिङले जिल्लाकै साहसिक पर्यटनमा ठुलो टेवा पुग्ने अपेक्षा आयोजकको छ । नेपाल पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको सहयोगमा ४ सय मिटर अग्लो सोक्ला भीरमा ‘सोक्ला रक क्लाईम्बिङ’ गर्न लागिएको हो । गत बर्षको असारमा सफलतापुर्वक ‘सोक्ला रक क्लाईम्बिङ’ को परिक्षण गरिएको थियो ।






