तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

तामसालिङ खबर
१९ जेष्ठ २०८०, शुक्रबार १५:२४

जेठ, काठमाडौ – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू-भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने चेतावनी जारी गरेको छ ।

महाशाखाले आज शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि काठमाण्डाै उपत्यका सहित देशभर गर्मी बढेको भन्दै तराईका भू-भागमा आउँदो पाँच दिन ‘लु’ लाग्न सक्ने चेतावनी दिएको हो। पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।

काठमाण्डौ उपत्यकासहितका ठाउँको तापक्रम क्रमिक वृद्धि भइरहेको तथा मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ।

पछिल्लो पाँच दिनदेखि आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी भएकाे महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको उहाँको भनाइ छ । काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ भने सीमरा, जनकपुरलगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

तातो हावा तथा ‘लु’ का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ । ‘लु’ तथा गर्मीको समस्याबाट बच्न याे समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्न, टोपी लगाउन, पटक-पटक पानी तथा जुस, सर्बत लगायतका झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*