पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड गर्न सिचुवान एयरले पायो अनुमति

तामसालिङ खबर
१ असार २०८०, शुक्रबार १५:५५

असार, पोखरा – चीनको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्न अनुमति पाएको छ । आगामी असार ६ (बुधबार) चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको हो।

पोखरा विमानस्थलका लागि यो नै पहिलो अन्तर्राष्ट्रिय उडान हो। सिचुवानले चीनको छेन्दु सहरबाट पोखरामा चार्टर्ड उडान गर्न लागेको हो। यस सँगै पोखरामा नियमित उडानका लागि सिचुवान सँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ।

आगामी बिहीबार भने पोखरामा पहिलो पटक हुन लागेको ‘ड्र्‍यागन बोट रेस फेस्टिभल’ का लागि सिचुवानले चीनमा चार्टर्ड उडान गर्न लागेको हो। चीनमा ड्र्‍यागन बोट रेस फेस्टिभल एकदमै चर्चित र महत्वपूर्ण मानिन्छ।

चिनियाँहरूले आफ्नो क्यालेन्डरअनुसार पाँचौं महिनाको पाँचौं दिनमा यो उत्सव मनाउँछन्। चीनमा ड्र्‍यागन डुंगा दौड प्रतियोगिताको इतिहास २५ सय वर्षभन्दा पुरानो रहेको मानिन्छ। यो दिनको धार्मिक तथा परम्परागत महत्व पनि उत्तिकै छ।

यसले नकारात्मक ऊर्जा बाहिर फ्याँक्ने र सकारात्मक तथा स्वच्छ ऊर्जा शरीरभित्र प्रवेश गराउने जनविश्वास छ। चीनले विशेष रूपमा मनाउने यही उत्सव यसपालि फेवातालमा पनि मनाइन लागिएको हो। दुई दिनसम्म चल्ने यो फेस्टिभल नेपाल र चीन सरकारको सहकार्यमा हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*