विश्वकप छनोटः यसरी पुग्न सक्छ नेपाल सुपर सिक्समा

असार, काठमाडौ – यही वर्ष भारतमा हुने विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोट अहिले जिम्बाब्वेमा चलिरहेको छ । जहाँ नेपालसहित १० वटाले प्रतिस्पर्धा गरिरहेका छन् । यी टिमलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको छ ।
छनोट प्रतियोगिताका आधाभन्दा धेरै खेल सकिँदा सुपर सिक्सको दौड रोमाञ्चक मात्र बनेको छैन, अमेरिका सुपर सिक्सको दौडाबाट बाहिरिने पहिलो टिम बनेको छ ।
नेपाल समूह ए मा छ । जहाँ दुईपटकको विश्वविजेता वेस्ट इन्डिज, टेस्ट राष्ट्र घरेलु टिम जिम्बाब्बे र सुपर लिग खेलेको नेदरल्यान्ड्स र विश्वकप लिग २ को प्लेअफबाट आएको अमेरिका छन् ।
नेपालले अहिलेसम्म तीन खेल खेल्दा दुई खेलमा पराजित भएको छ । अब नेपालले एक खेल खेल्न बाँकी छ । आफूले खेलेका दुवै खेल जितेको वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा छ भने दुई खेलमा दुई खेल जितेको जिम्बाब्बे पनि ४ अंकका साथ दोस्रो स्थानमा छ । दुई खेलमध्ये एक खेलमा जित हात पारेको नेदरल्यान्ड्स नेपालभन्दा राम्रो रनरेटका कारण तेस्रो नम्बरमा छ । नेपाल दुई अंकका साथ चौथो नम्बरमा छ ।
सुपर सिक्समा पुग्न शीर्ष तीनमा पर्नुपर्छ । अहिले चौथो स्थानमा रहेको नेपाल तेस्रो हुँदै सुपर सिक्समा पुग्न आफ्नो मात्र होइन अरु खेलको नतिजामा समेत भर पर्नुपर्ने भएको छ । नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्दै छ । हरारेमा नेपालले सुपर सिक्समा पुग्न नेदरल्यान्ड्सलाई पराजित गर्नैपर्छ । नत्र नेपालको जिम्बाब्वे यात्रा भोलि नै टुंगिने छ ।
नेदरल्यान्डसँग जित हात पारेर मात्र पनि नेपाललाई पुग्नेछैन । आगामी सोमबार वेस्ट इन्डिजसँग नेदरल्यान्ड्सले अन्तिम खेल खेल्ने छ । त्यो खेलमा वेस्ट इन्डिजले नेदरल्यान्डलाई पराजित गरे नेपाल सुपर सिक्समा पुग्नेछ । त्यति मात्र होइन भोलि नेपालले नेदरल्यान्ड्सलाई हराउँदा जिम्बाब्वे र नेदरल्यान्डको भन्दा राम्रो हुने गरी रन रेट सुधार गरे अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजमाथि जित हात पारे पनि नेपाल सुपर सिक्समा पुग्नेछ । यी सबै सम्भावना त्यतिबेला मात्र देखिनेछन् जब भोलि नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्नेछ ।
हेड टू हेडमा नेपाल र नेदरल्यान्ड्स बराबरको स्थितिमा छन् । यसअघि नेपाल र नेदरल्यान्ड्सबीच दुईवटा ओडीआई खेल भएका छन् । जसमा दुवैले एक एक जित र एक एक हार व्यहोरेका छन् । नेपाल र नेदरल्यान्ड्सको पहिलो भेट २०१८ अगस्ट १ मा भएको थियो । नेदरल्यान्ड्समै भएको सो खेलमा नेपाल पराजित भएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच सोही सिरिजको दोस्रो खेलमा भने नेपाल विजयी भएको थियो । र सो जित ओडीआईमा नेपालको पहिलो जित थियो ।