राक्सिराङ्गको निति तथा कार्यक्रम: बसाई आउनेलाई घर उपहार

असार, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकाले अगामी आर्थिक बर्ष २०८०/८१ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शनिबार चैनपुरमा सम्पन्न चाैधाैँ गाउँसभामा अध्यक्ष मल्लले गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
निति तथा कार्यक्रममा राक्सिराङ्गमा बसाई सरी आउनेलाई घर उपहार दिने उल्लेख गरिएको छ । ‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाई सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाई सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिनेछ ।’ अध्यक्ष मल्ले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा उल्लेख छ ।
राक्सिराङ्गका अधिकांश मानिसहरु बसाई सरेर मनहरी लगायत अन्य क्षेत्रमा जाने क्रम बढेपछि राक्सिराङ्गप्रति आकर्षण बढाउन यस्तो कार्यक्रम ल्याइएको गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ्ग बताउनुहुन्छ ।
“राक्सिराङ गाउँपालिकामा बाहिरबाट जो-कोही परिवार बसोबास गर्ने गरी आएमा पालिकाले घर बनाइदिन्छौँ, अहिले मान्छेहरु सहरतिर मात्रै आकर्षित भइरहेको बेला गाउँ नै खाली होला भन्ने डर भएकोले यो नीति ल्याएका हौँ ।” थिङ्गको भनाई छ ।
घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुनेछ । यस्तै समुदायमा आधारित समूहरुको दीगो व्यवस्थापनमा एक घर एक धारा कार्यक्रमलाई थप बस्तीहरुमा विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाको बजारोन्मुख बस्तीहरु पलाँसे चैनपुर, राक्सिराङ, अठारे, चौकीटार र सिलिङ्गेमा व्यवस्थित बस्ती विकास र नक्सापाससहितको पक्की भवन निर्माण गर्न सहरी विकास तथा एकीकृत बस्ती विकास मापदण्ड कार्यान्वयन गरिने नीति पनि गाउँपालिकाले लिएको छ ।
दूर्गम वडाहरुमा विद्युतीकरण, काठेपोल विस्थापन कार्यलाई पनि प्राथमिकता दिइएको छ । सडक गुरुयोजना पुनरावलोकनमार्फत सडकको राइट अफ वे निर्धारण गर्दै स्थानीय सडक सञ्चालन प्रणालीलाई व्यवस्थित र नियमित गरी विभिन्न रुटमा चल्ने सार्वजनिक सवारी साधनको भाडा निर्धारण गर्न विशेष पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिका केन्द्रमा स्थापित आधारभूत अस्पतललाई सुविधा सम्पन्न बनाई वडाहरुबाट अस्पतालसम्म निशुल्क बस सेवा सञ्चालन गरिने पनि योजना बनाइएको छ । स्थानीय रोजगार योजना तजुमा गरी बेरोजगार जनशक्तिको पहिचान, सीप विकास बिधि र संस्थागत सुदृढीकरणको लागि काम थाल्ने नीति पनि लिइएको छ ।