मनहरीको नीति तथा कार्यक्रम: जेष्ठ, असाहय नागरिकलाई घरदैलो स्वास्थ्य सेवा

असार, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिकाले अगामी आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार मनहरी ८ स्थित आमाघरको सभाहलमा भएको १३ औ गाउँसभामा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
अध्यक्ष कालाखेतीले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा पुर्वाधार विकास, समाजिक बिकास तथा सुशासनलाई जोड दिइएको छ । पुर्वाधारतर्फ सडक, पुल, विभिन्न वडा कार्यालयको भवनहरुलगायत संरचना बनाउन जोड दिइएको छ । ग्रामिण सडक गुरुयोजनामा तोकिएको पालिकाभित्रका सबै सडकको क्षेत्राधिकारको मापदण्ड पुनराबलोकन गर्न जोड दिएको छ ।
कृषि तथा पशुपन्छी विकासतर्फ पालिकाले स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न प्राविधिक सहयोग गर्नुको साथै ५० प्रतिशत अनुदानका कार्यक्रमलाई निरन्तरता एवम् कृषि तथा पशुपन्छीको उत्पादनमा अनुदान वितरण गरिने बताए ।
बाँझो जमिनहरु पहिचान गर्ने, सामुहिक खेती तथा चक्लाबन्दी खेतीमा जोड दिइने जनाइएको छ । मनहरी क्षेत्रभित्रका कम्तिमा १ हजार लैना पशुहरु बीमा गर्न आवश्यक प्रिमियम रकममा ५० प्रतिशत अनुदान दिने नीति कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी ज्येष्ठ नागरिक तथा असहाय वर्गको स्वास्थ्य अवस्था जाँच तथा उपचारको लागि गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नेछ । गुट्खा, पान पराग जस्ता पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाईने पनि निति तथा कार्यक्रममा उल्लेख छ ।
मनहरी गाउँपालिकाको नदी उकास जमिनहरुमा नरिवलको बिरुवा रोप्ने कुरालाई गाउँपालिकाले अघि सारेको छ । गाउँसभाको पहिलो बैठकबाट नीति तथा कार्यक्रम र आर्थिक ऐन पारित गरेको छ ।