सरोकारवालाहरुको एकैस्वर चिउरी संरक्षण गर्छौ
असार, हेटौडा (मनहरी) – बहुउपयोगी बनस्पति चिउरीको संरक्षण र प्रबर्द्धनका लागि एक जुट हुनुपर्ने सरोकारवालाहरुले बताएका छन ।
बुधबार मनहरीमा आयोजित ‘चिउरी, चेपाङ र चमेरो नयाँ आयामको खोजी’ पुस्तक हस्तान्तरण कार्यक्रममा सरोकारवालाहरुले चिउरीको उपयोगिता, समाजिक तथा साँस्कृतिक महत्व, संरक्षणमा देखिएका चुनौति लगायत बिषयमा छलफल गरेका हुन ।
सो कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्कादेखि जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न सामुदायिक वनका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरुले ‘चिउरी’ बारे चर्चा गर्दै आआफ्ना भोगाई तथा अनुभव साटे ।
मन्त्री खड्काले ‘चिउरी’ आफ्नो लागि नौलो भए पनि यसको महत्व र उपयोगिताबारे अध्ययन गर्ने अवसर मिलेको बताउनुभयो । उहाँले यसको संरक्षण र व्यवसायीकरणबारे अध्ययन गरेर उचित निति निर्माण गर्ने, बजेट व्यवस्थापन गर्नेलगायत बिषयमा आफुले भुमिका खेल्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले ‘चिउरी’को उपयोगिताबारे चर्चा गर्दै यसको संरक्षण जरुरी रहेको बताउनुभयो । ‘चिउरी’ उत्पादन हुने क्षेत्रमा संरक्षण र बृक्षारोपणका अभियानहरु लगिनुपर्ने उहाँको भनाई छ ।
यस्तै बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दहालले संरक्षणका लागि बजेट वा बाहिरी सहायता नकुर्न स्थानीय सरोकारवालालाई आग्रह गर्नुभयो । उहाँले स्थानीय सामुदायिक वनहरुले आफ्नो कार्ययोजनामा नै ‘चिउरी’ बारे नितिगत निर्णय गरेर काम गर्न जोड दिनुभयो ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आफुले विगत देखि नै ‘चेपाङ, चिउरी र चमेरो’ को अन्तरसम्बन्ध स्थापित गर्न काम गरिरहेको उल्लेख गर्नुभयो । पालिकाबाट सक्दो बजेट व्यवस्थापन गरेरै यसको संरक्षणमा पहल गरिरहेको बताउँदै उहाँले पछिल्लो समय सरोकारवालाको चासो देख्दा उत्साहित रहेको बताउनुभयो ।
यस्तै डिभिजनल वन अधिकृत बिष्णु प्रसाद आचार्यले आफु ‘चिउरी’ को बारेमा गम्भीर रहेको बताउँदै मकवानपुर, चितवन र धादिङका विभिन्न ठाँउमा चिउरीकै अध्ययन अवलोकनका लागि पुगेको बताउनुभयो । चिउरी, चेपाङ र चमेरोको त्रिभुजिय सम्बन्धको महत्वबारे प्रस्ट्याउदै उहाँले चिउरी संरक्षण र प्रवद्र्धनकै लागि वन कार्यालयमार्फत विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
‘चिउरी, चेपाङ र चमेरो नयाँ आयामको खोजी’ पुस्तक आचार्यकै संकलन तथा लेखनमा प्रकाशित भएको हो । पुस्तकमा ‘चिउरी’को परिचय, उपयोगिता, सामाजिक तथा साँस्कृतिक महत्व, चेपाङ तथा चमेरोबीच चिउरीको भुमिका, संरक्षणका चुनौतीलगायत बिषयवस्तु समेटिएका छन । ‘चिउरी’ बारे गाउँगाउँमा पुगेर खोज तथा अनुसन्धान गरि पुस्तक प्रकाशन गरिएको आचार्यले बताउनुभयो ।









