सुरक्षा प्रत्याभूति नभए बैंक बन्द गर्ने परिसंघको चेतावनी

तामसालिङ खबर
१८ असार २०८०, सोमबार १४:५५

असार, काठमाडौ – सरकार र सम्बन्धित निकाय मार्फत पूर्णरुपमा सुरक्षाको प्रत्याभूति नभए बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी बैंक तथा वित्तीय संस्था परिसंघले दिएको छ । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्था परिसंघको गत बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन परिसंघले प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित सबै समक्ष जोडदार माग गरेको छ ।

‘यदि निर्वाध रुपमा सुरक्षित वातावरणमा बैंक तथा वितीय संस्थाले बहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पूरा गर्न सहज हुने वातावरणको सुनिश्चितता नेपाल सरकार र सो अन्तर्गतका निकायबाट हुन नसक्ने हो भने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले आफनो सेवा पूर्णरुपमा बन्दै गर्नुपर्ने परिस्थिति सृजना हुन सक्नेतर्फ सचेत गराउँदछौं,’ परिसंघको विज्ञप्तिमा भनिएको छ, ‘सोबाट आम निक्षेपकर्ता, ऋणीलगायत सम्पूर्ण सरोकारवालाहरुको हक, हित संरक्षण तथा सम्वर्द्धनमा गम्भीर संकट उत्पन्न हुने र समग्र अर्थतन्त्रमा नै अकल्पनीय संकट सिर्जना हुने भएकाले नेपाल सरकारलगायत सबैको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ति, शाख एवं सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति, संस्था एवं समूहहरुबाट निरन्तर रुपमा भइरहेको भौतिक आक्रमण, एवं गैरकानुनी गतिविधि नियन्त्रणका लागि परिसंघले सरकारसाग यस्तो माग गरेको हो ।

यस्तै, बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने, बैंक वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई भौतिक आक्रमण गर्नेलगायत प्रचलित कानुनबाट बर्जित क्रियाकलाप गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाका विरुद्ध अनिवार्य रूपमा मुद्दा चलाउने निर्णय पनि परिसंघले गरेको छ ।

प्रचलित कानुन बमोजिम कडा कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गर्ने लगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि आवश्यक कदम चाल्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरु पूर्णरुपमा एकताबद्ध प्रतिबद्ध र दृढ संकल्पित रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*