बागमती प्रदेशकाे राजश्व असुलीमा ९ अर्ब ४३ करोड कमी
साउन, हेटाैंडा – बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९/८० मा राजश्व असुलीमा कमी आएको छ । गत आवमा प्रदेशमा लक्ष्यभन्दा रु नौ अर्ब ४३ करोड कम राजश्व सङ्कलन भएको छ।
बागमती प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौँडाका कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारले गत आव भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ।
प्रदेश सरकारले आव २०७९/८० मा रु ५५ अर्ब ३१ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा रु ४५ अर्ब ८८ करोड सङ्कलन गरेको उनले बताए। “शीर्षकको हिसाब मिलानको काम बाँकी रहेकाले केही राजस्व बढ्न सक्छ”, प्रमुख उपाध्यायले भने। प्रदेश सरकारले विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दातसहित रु ७० अर्ब ९३ करोड प्राप्त हुने अनुमान गरेको थियो।
प्रदेश सरकारले गत आवको सुरुआतसम्ममा नगद मौज्दातसहित रु ७७ अर्ब ८२ करोड सङ्कलन गरेको थियो। त्यसैगरी प्रदेश सरकारले सो आर्थिक वर्षमा सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने राजस्वअन्तर्गत अनुमानभन्दा २६ प्रतिशत कम प्राप्त भएको प्रमुख उपाध्यायकोे भनाइ छ।
सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायतका राजस्वमार्फत अनुमानको ७४ प्रतिशत मात्र सङ्कलन भएको छ। सो शीर्षकअन्तर्गत रु २८ अर्ब ४५ करोड राजस्व सङ्कलनको अनुमान गरिएकामा आर्थिक वर्षको अन्त्यसम्ममा रु २१ अर्ब चार करोड मात्र सङ्कलन भएको उनले बताए।
यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणअन्तर्गत रु २१ अर्ब चार करोड प्राप्त हुने अनुमान गरिएको थियो। तर, आर्थिक मन्दीका कारण सङ्घीय सरकारले बजेट कार्यक्रम कटौती गर्दा केही कार्यक्रम फिर्ता भएको प्रमुख उपाध्यायले बताए।
उक्त कार्यक्रम फिर्ता हुँदा प्रदेश सरकारले वित्तीय हस्तान्तरणअन्तर्गत रु १७ अर्ब ९९ करोड प्राप्त हुने अनुमान गरिएकामा सतप्रतिशत रकम प्राप्त नभएको उनको भनाइ छ।
आन्तरिक स्रोतअन्तर्गत वन, सञ्चार तथा विभिन्न साना तथा घरेलु उद्योग दर्ता, नवीकरण र सेवा सुविधाअन्तर्गत आर्थिक वर्ष २०७९÷८० मा चार अर्ब ७४ करोड रुपैयाँ आय सङ्कलन हुने अनुमान गरेको थियो।
प्रदेश सरकारले आन्तरिक स्रोतमार्फत बागमती सभ्यता तथा नारायणी राप्ती सभ्यतासहित अनुमान गरिएको उक्त रकममध्ये सो आवमा रु पाँच अर्ब ९९ करोड आय सङ्कलन गरेको छ।
प्रदेश सरकारले सो आर्थिक वर्षमा अनुदान फिर्ता, बेरुजुलगायतका शीर्षकमार्फत एक अर्ब पाँच करोड रुपैयाँ आय सङ्कलनको अनुमान गरेकामा आर्थिक वर्षको अन्त्य असार मसान्तसम्ममा रु एक अर्ब ४४ करोड आय सङ्कलन गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।






