चैनपुर जेसीजले खुला फुटबल प्रतियोगिता गर्ने

असोज, हेटौडा (मनहरी) – चाडपर्वको पूर्व सन्ध्यामा चैनपुर जेसीज (प्रस्तावित) ले जेसीज कप खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज २३ गते मंगलबारबाट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
युवाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना, चाडपर्वको शुभकामना आदानप्रदान एवम् खेलकुदको विकासका निम्ति प्रतियोगिता गर्न लागिएको चैनपुर जेसीजका अध्यक्ष गणेश दर्पण अधिकारीले जानकारी दिए । ‘स्थापनादेखि नै युवा लक्षित विभिन्न कार्यक्रम गर्ने जमर्को रहँदै आएको छ ।
प्रतियोगिता राक्सिराङमा सञ्चालन गर्ने योजना थियो, वर्षाका कारण हाँडीखोलामै गर्न लागेका हौं ।’ मनहरी गाउँपालिका ३ हाँडीखोलास्थित लामिटारको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।
यस्तै, विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक चैनपुर जेसीजका महासचिव रविन ढकालले बताए । प्रतियोगिताको लागि कार्यकारिणी उपाध्यक्ष प्रमोद अधिकारीको संयोजकत्वमा समिति निर्माण गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने क्लव तथा संघसंस्थाले २१ गते आइतबार दिउँसो सम्म टिम दर्ता गर्न सक्नेछन् ।