थाहा नगरको नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

तामसालिङ खबर
२० आश्विन २०८०, शनिबार ०७:०५

असोज, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ति गरेको छ । नगरपालिकामा १० जना नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । एक सहायक नगर प्रहरी निरीक्षक, दुइ हवल्दार र ७ जवान नगर प्रहरीहरुलाई प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो।

लिखित र मौखिक र शारीरिक परीक्षा पास भएका नगर प्रहरीलाई इलाका प्रहरी कार्यालय पालुङले १० दिने आधारभुत प्रहरी प्रशिक्षण दिएपश्चात नगरपालिकाले पद तथा गोपनियताको सपथ गराएर काममा खटाएको सूचना अधिकारी सुरजकुमार भुजेलले बताउनुभयो ।

नगर प्रमुख बिष्णु बिष्टले नगरप्रहरीलाई विधिमा रहेर अनुशासनमा रहेर नगरप्रहरीलाई काम गर्न जोड दिनुभयो । नगर प्रहरीका अधिकारभित्र रहेर काम गर्नु पर्ने र व्यक्ति भन्दा विधिलाई मान्नु पर्ने बताउनुभयो।

बजार व्यवस्थापन, अग्नी नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापनका बारेमा पनि तालिम दिइएको छ । नगर प्रहरीलाई घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण लगायतका विषयमा तालिम दिइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्याम थापा मगरले बताए ।

नगर प्रमुख बिष्ट र प्रमुख प्रशासकीय अधिकृत गिरीले नगर प्रहरीले इमान्दारिता र कर्तव्यनिष्ठरुपमा नगर मातहतमा रहेर सुरक्षा व्यवस्थापनको काममा खटिन निर्देशन समेत दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*