नारायणी सहकारीको ऋण लगानी साँढे २३ करोड नाघ्यो
असोज, हेटौडा – नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको कूल ऋण लगानी २३ करोड ५९ लाख ७३ हजार रुपैंया पुगेको छ । २०५३ सालमा स्थापित सहकारीको कूल बचत २३ करोड ४४ लाख ४६ हजार तथा जगेडा कोष दुई करोड १८ लाख ७८ हजार रुपैंया रहेको छ ।
भवन, जग्गासहित सहकारीको कूल सम्पती ३६ करोड ६० लाख ३१ हजार तथा अन्य कोष ६३ लाख ९१ हजार रुपैंया पुगेको छ । साथै, एक हजार एक सय ३३ महिलासहित दुई हजार दुई सय ५९ जना शेयर सदस्य रहेको सहकारीको ६ करोड १८ लाख ८६ हजार शेयर पुँजी रहेको छ ।
यही असोज २७ गते शनिबार २७ औं बार्षिक साधारण सभाको तयारीमा रहेको सहकारी उत्कृष्ट सहकारीसँगै विभिन्न पुरस्कारबाट पुरस्कृत भईसकेको छ । राष्ट्रिय सहकारी बैंकले नेपालभरीको बचत तथा ऋण कारोबार बाहेकको कारोबार गर्ने उत्कृष्ट सहकारी बर्ष २०७४ बाट पुरस्कृत गरिसकेको अध्यक्ष जंगबहादुर गुरुङले बताउँनुभयो ।
असल बचतकर्ता, असल ऋणी, जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्य, कर्मचारी लगायत विभिन्न विधागत पुरस्कार भने सहकारीले बार्षिकोत्सवमा गर्ने उहाँको भनाई छ । डिभिजन सहकारी कार्यालय हेटौंडाबाट उत्कृष्ट सहकारी पुरस्कार २०७२, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघबाट उत्कृष्ट सहकारी पुरस्कार २०७३ बाट सम्मानित भईसकेको सहकारी शिवम् सिमेन्टबाट २०७१ देखी विभिन्न अवार्डबाट पुरस्कृत भईरहेको छ ।
वित्तिय सेवा (बचत तथा ऋण)सँगै सहकारीले व्यवसायिक सेवा अन्तरगत निर्माण सामग्रीहरु सिमेन्ट, रड, ईट्टा, ढलान केमिकल, खाना पकाउने ग्याँस बिक्री गर्दै आएको छ । मुख्य कार्यालय हेटौंडा ९ तथा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका कार्यक्षेत्र रहेको सहकारीको सेवा केन्द्र हेटौंडा ४ पारिजातपथ र हेटौंडा ८ कमानेमा रहेको छ ।






