टी ट्वान्टी विश्वकप: नेपाल सुपर ओभरमा ओमन संग पराजित

तामसालिङ खबर
१९ कार्तिक २०८०, आईतवार १४:५०

कार्तिक, काठमाडौं – आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आईतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

अबिनाश बोहराको ओभरमा तीन छक्का प्रहार गर्दै ओमानले नेपाल समक्ष सुपर ओभरमा ठुलो चुनौती प्रस्तुत गरेको थियो । तर नेपालले सुपर ओभरमा राम्रो ब्याटिङ प्रर्दशन गर्न सकेन । बिलाल खानका अघि नेपाली ब्याटर चल्न सकेनन् ।

कुशल भुर्तेल पहिलो बलमा आउट भए भने कुशल मल्लले पनि आवश्यक छक्का प्रहार गर्न सकेनन् । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

कप्तान रोहित पाडेलको अविजित ५२ रनको इनिङ्समा गुल्सन झाले २५ बलमा ५४ रनको विस्फोटक पाली खेलेका थिए । गुल्सनले २५ बलमा ५ चौका र ४ छक्काको मदतले सो रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेलले ३१ रन बनाएको इनिङ्समा आसिफ शेखले ६, सन्दीप जोराले १० र कुशल मल्लले ३ रन बनाएका थिए । विवेक यादव १ रनमा आउट हुँदा करन केसी २० रनमा अविजित रहे ।

ओमानका बिलाल खानले ३ तथा आकिब इलियासले २ र जिशान मकसुदले १ विकेट लिएका थिए । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

ओपनर कश्यप प्रजापतीले ६३ रन बनाएको इनिङ्समा आकिब इलियासले ३३ रन बनाएका थिए । जिसान मकसुदले २६ र मोहम्मद नदिमले अविजित २४ रन बनाएका थिए । अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन ।

नेपालका सन्दीप लामिछाने र करन केसीले समान २ तथा सोमपाल कामी, गुल्सन झा, अविनाश बोहरा र विवेक यादवले समान एक विकेट लिए । नेपाल र ओमान यसअघिनै अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*