गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण बागमती सरकार र भरतपुर महानगरले गर्ने

कार्तिक, हेटौडा – चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ । मंगलबार हेटौँडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकार बिचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा मंगलबार बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ ।
बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान ७५ करोड रुपैयाँ बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो ।
बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, प्रमुख सचिव घनश्याम उपाध्याय महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो ।