सकियो ‘तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव’

तामसालिङ खबर
१ पुष २०८०, आईतवार ०४:५८

मंसिर, काठमाडौं – नेपाल तामाङ कलाकार संघको आयोजनामा राजधानीको चुच्चेपाटि महांकाल चौरमा शुक्रबारदेखि जारी ‘तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव’ शनिबार सम्पन्न भएको छ ।

शुक्रबार अपराह्न बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले छ्युमे दिप प्रज्वलन एवं सगुन ग्रहण गरेर उद्घाटन गर्नुभएको महोत्सव शनिबार विविध सांस्कृतिक प्रस्तुतीका साथ समापन गरिएको हो ।

महोत्सवमा मुख्य रुपमा डम्फू,ताम्बा संस्कृतिका साथै तामाङ जातिभित्रका गीत संगीतको विविधता झल्किने प्रस्तुतीहरुलाई स्थान दिइएको आयोजकले जनाएको छ।

समापनका दिन महोत्सवको आकर्षणको रुपमा रसुवा धादिङ,नुवाकोट क्षेत्रमा प्रचलित म्हेन्दोमाया जस्ता केहि मौलिक गीतहरुका साथै सेलो राग समूहको मौलिक सेलो गीतहरु गुञ्जिए ।

साथै चर्चिच कलाकारहरु इन्दिरा गोले,विजय लामा लगायतदेखि नव उदयिमान कलकारहरुले आ-आफ्ना सिर्जना मार्फत सांगीतिक माहौल तताए । सांगीतिक प्रस्तुतीका साथै नायक अमिर दोङ लगायत विभिन्न समूहका कलाकारहरुको नृत्य प्रस्तुतीमा बेलुका अबेरसम्म दर्शकहरु झुमे ।

महोत्सवको पहिलो दिन शुक्रबार सिन्धुपाल्चोक क्षेत्रमा प्रचलनमा रहेको खान्दोेके सेलो,तेमाल तथा रामेछाप आसपासका क्षेत्रमा चल्ने फापरे गीतका साथमा ताम्बा,बोन्बोहरुको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । महोत्सवमा ताम्बा संघ नेपाल लगायत विभिन्न संघसंस्थामा आवद्ध ताम्बाहरुको साङसेरगेमा गीत,बोन्बो र लामाले पनि आफ्नै विधिमार्फत साङ सेरगेम प्रस्तुती दिएका थिए ।

तामाङ मौलिक गीतहरुको प्रवद्र्धन एवं डम्फु,ताम्बा संस्कृति र सभ्यताका विषय उजागर गर्न आयोजना गरिएको महोत्सव सफल भएको तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले बताउनुभयो । महोत्सवमा तामाङ भेषभूषा,बोन्बोको ट्यांग्रो,बुद्ध चित्त माला,डम्फू बाजा,तामाङ साहित्य,इतिहास र संस्कृति विषयका पुस्तकहरु भएको स्टलहरु समेत राखिएको थियो ।

चन्द्रकुमार दोङलाई सेलो संगीत पुरस्कार,अन्य प्रतिभाहरु समेत सम्मानित सेलो महोत्सव कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङलाई सेलो संगीत पुरस्कार २०८० प्रदान गरिएको छ ।

नेपाल तामाङ कलाकार संघले स्थापना गरेको नगद २५ हजार,सम्मानपत्र,दोसल्लासहितको पुरस्कार प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तया योजना मन्त्री बहादुर सिं लामाले प्रदान गर्नुभयो । कार्यक्रममा सेलो गीत संगीतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिएको भन्दै दोङलाई पुरस्कृत गरिएको आयोजकले स्पष्ट पारेको छ ।

त्यस्तै तामाङ सेलो गीत संगीत तथा कला क्षेत्रको उन्नयनमा योगदना गरेकोमा अम्मर नेपाली,श्री तामाङ,हरि थापा,विश्व दोङ,शशिकला मोक्तान,नायक तथा निर्देशक अमिर दोङ,रमला पाख्रीन,पत्रकार एवं साहियत्यकार बुद्ध योञ्जनसम्मलाई पनि सम्मान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*