स्थानीय उत्पादनलाई प्राथमिकता दिदै माघ १६ गते देखि पाँचौ मनहरी महोत्सव हुने
माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा पाँचौ संस्करणको मनहरी महोत्सव हुने भएको छ । कोभिड १९ को कारण थलिएको महोत्सव पाँचौ संस्करणमा भिन्न रुपमा स्थानीय रैथाने खाद्यान्न, कृषि जन्य सामग्री र पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा महोत्सव हुने भएको हो ।
सोमबार मनहरीको रोटरी मार्केटमा पत्रकार सम्मेलन गर्दै यहि माघ १६ गते देखि २८ गते सम्म चल्ने महोत्सवको मुख्य संरक्षकमा मनहरी गाउँपालिका रहेको छ भने राक्सिराङ्ग गाउँपालिका र कैलाश गाउँपालिका सह-आयोजकमा रहेको महोत्सवका प्रचार-प्रसार संयोजक राजु राउतले बताउनुभयो।
१ सय ५० वटा स्टल रहने महोत्सवमा पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ्ग, कैलाशमा उत्पादित गेडागुडी, गिठ्ठा, लोकल कुखुरा, घट्टमा पिसेको मकैको पिठो, कोदोको पिठो, मास, गहत, भटमास लगायत कृषि प्रदर्शनी, हात्ती सवारी लगायतलाई प्राथमिकता दिएको छ ।
प्राथमिकतामा दिएका स्थानीय उत्पादनको बिक्रीवितरण, कृषि प्रदर्शनी र मौलिक जातजातिको प्रदर्शनीको लागि २० वटा स्टल पालिकाको सिफारिसमा नि:शुल्क व्यवस्था गर्ने संघका सभापति एवम् महोत्सवका संयोजक गणेशमान मान्धरले जानकारी दिनुभयो।
स्थानीय लुकेका प्रतिभाहरुको प्रस्तुति, सिमान्तकृत बोटे, बनकरिया, चेपाङ्ग, तामाङ्ग, मगर समुदायको मौलिक संस्कृति प्रदर्शनी एवम् प्रस्तुति रहने आयोजकले जनाएको छ । मनहरी, राक्सिराङ, कैलाश गाउँपालिका र चितवन जिल्लाका सहभागीहरुलाई अवलोकन गराई महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।







