फाल्गुन १ देखि छैठौं संस्करणको बागमती गोल्डकप शुरु हुने

माघ, हेटौंडा (बागमती) – पूर्वी मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा छैठौं संस्करणको बागमती गोल्डकप हुने भएको छ । आगामी फाल्गुन १ देखि १० गते सम्म हुने गोल्डकप बारे सोमबार गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
गोल्डकपमा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र एक बिदेशी गरि १० वटा क्लबहरुको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिएको छ । यस संस्करणको प्रतियोगितामा ६९ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष सर्केश घलान अहिले खेलाडी उत्पादनका लागि सबै वडामा खेल मैदान निर्माण गरेका छौं, अब पालिकामा राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने चरणमा रहेकोले युवाहरुले खेलेरै जिविकोपार्जन गर्न सकिने वातावरण बन्ने बताउनुभयो।
गत संस्करण ए डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोलि एफसी भुटनिज स्पोर्ट क्लबले जितेको थियो । प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।