आज देखि मनहरी महोत्सब, स्थानीय उत्पादनलाई प्राथमिकता
माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको व्यापारिक केन्द्र मनहरीमा आज देखि पाँचौ संस्करणको मनहरी महोत्सब शुरु हुँदै छ। मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा आज देखि शुरु हुने महोत्सब माघ २८ गते सम्म चल्ने छ ।
मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट बिहान ११ बजे शोभायात्रा गर्ने कार्यक्रम तय भएको छ । शोभायात्रा पछि दिउँसो १ बजे महोत्सबको उद्घाटन पूर्व गृहराज्यमन्त्री तथा बागमती प्रदेश सभा सदस्य इन्द्र बहादुर बानियाँले गर्नु हुने भएको छ ।
महोत्सवमा मनहरी, राक्सिराङ्ग, कैलाशमा उत्पादित गेडागुडी, गिठ्ठा, लोकल कुखुरा, घट्टमा पिसेको मकैको पिठो, कोदोको पिठो, मास, गहत, मह, तामा, माछा, भटमास लगायत कृषि प्रदर्शनी, रैथाने बाली प्रबर्द्धनको लागि प्राथमिकता दिएको छ ।
राष्ट्रिय र स्थानीय सबै कलाकारहरुको तय गरिएको र स्थानीय स्तरमा लोकदोहोरी प्रतियोगिता, नृत्य लगायतका क्रियाकलापहरु दैनिक रुपमा हुने आयोजकले जनाएको छ । महोत्सवमा चेपाङ, तामाङ, बनकरिया समुदायको जीवनशैली झल्कने स्टलहरु प्रदर्शनीमा रहने आयोजकले जनाएको छ।
महोत्सवलाई ६० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक समितिका संयोजक समेत रहनु भएका सभापति मानन्धरले बताउनुभयो । महोत्सवको संरक्षकमा मनहरी गाउँपालिका रहेको छ भने सह आयोजकमा राक्सिराङ र कैलाश गाउँपालिका रहेको छ ।
५ बर्षको अन्तरालमा हुन लागेको महोत्सवमा टिकट शुल्क ७० रुपियाँ र विद्यार्थी सहुलियत शुल्क ३५ रुपियाँ तोकिएको समितिका महासचिव पदमबहादुर तितुङले जानकारी दिनुभयो । महोत्सब सफल बनाउनको लागि मनहरी गाउँपालिका संरक्षक, राक्सिराङ्ग गाउँपालिका र कैलाश गाउँपालिका सह-आयोजकको रुपमा रहेको छ।






