एन्ड्रसले जित्यो, मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधि

तामसालिङ खबर
१९ माघ २०८०, शुक्रबार १९:०८

माघ, हेटौंडा – रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधि टिम एन्ड्रसले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा एन्ड्रसले आयोजक रेडियो मकवानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । एन्ड्रसको जितमा सरोज पौडेलले दुई गोल गरे ।

रवीन्द्र वाईबाको निर्णायक गोलमा खेलकुद पत्रकार मञ्च मकवानपुरलाई हराउँदै टिम एन्ड्रस फाइनलमा प्रवेश गरेको थियो । यस्तै उपविजेता आयोजक रेडियो मकवानपुर नेपाल पत्रकार महासंघलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

विजेता टिम एन्ड्रस अघिल्लो वर्ष खेलकुद पत्रकार मञ्चद्धारा आयोजित जिल्लास्तरीय मिडिया कपको विजेता समेत हो । विजेता टिमलाई आगामी सोमबार सप्ताहव्यापी कार्यक्रम समापनका दिन पुरस्कार वितरण गरिने रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले बताए ।

रेडियो मकवानपुरले आफ्नो वार्षिकोत्सवमा अवसरमा गएको मंगलबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । पहिलो दिन शहीदको विषयमा रचना वाचन, दोस्रो दिन हेटौंडा क्याम्पसमा सेनटरी प्याड वितरण र तेस्रो दिन ओम वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको थियो ।

यस्तै शनिबार मनहरी–५ मा निशुल्क स्वास्थ्य शिविर, आइतबार बालमैत्री नगर निर्माणमा सरोकारवालाको भुमिका विषयक वत्तृत्वकला प्रतियोगिता आयोजना हुने र सोमबार समापन गरिने म्यानेजर अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*