मनहरी महोत्सब: धुर्मुस-सुन्तलीको सामाजिक राजनीतिक बिकृति बिरुद्धको व्यंग्य

भोलि भूमिका गिरी, सुमिना लो सहितका कलाकार आउने
तामसालिङ खबर
२१ माघ २०८०, आईतवार १९:३०

माघ, हेटौडा (मनहरी) – मनहरी बगरमा जारी पाँचौ मनहरी महोत्सवमा चर्चित हाँस्य कलकार धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुन्जना घिमिरे) ले दर्शकहरुलाई पेट मिची मिची हँसाएका छन् । उहाँहरुले समसामयिक सामाजिक विकृति तथा राजनीतिक विकृतिका विरुद्ध व्यंग्य गर्नु भएको थियो ।

उहाँहरुले देश बिग्रँदै गएको, युवा विदेश जानुपर्ने बाध्यता सिर्जना भएको तथा देशलाई नेतृत्व गर्न नयाँ मान्छे आवश्यक रहेको भाव झल्किने प्रहसन प्रस्तुत गर्नु भएको थियो । मौलिक गाउँले शैलीको उहाँहरुको प्रहसन हेर्नका लागि बृद्धबृद्धाहरु समेत महोत्सव स्थलमा झुम्मिएका थिए ।

धुर्मुस–सुन्तलीसँगै महोत्सवमा नेपालकै पहिलो चेपाङ गायक रविन कुमार चेपाङ, उर्मिला प्रजा, मोडल पवन कुमार चेपाङ र शुक्र महर्जन, आरती प्रजा लगायतले प्रस्तुति दिनुभएको थियो । माघ २२ गते भोलि चर्चित लोकदोहोरी गायिका भूमिका गिरी, सेलो गायिका सुमिना लो, गीता योन्जन, अबिराम मुक्तानले प्रस्तुति दिने तयारी छ भने स्थानीय रुपमा अनिल सुनार, उर्मिला परियार लगायतको प्रस्तुति रहनेछ ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १ सय ५० वटा स्टल छन् ।

स्थानीय माछा, तामा, मास, गहत, दलहन, च्याउबाट बन्ने विभिन्न परिकारहरु, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको सेलरोटी, चिउरीको मह, मनहरी बहुमुखी क्याम्पसको बिद्यार्थीहरुको मट्का चिया लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबर्द्धन गरिएको छ ।

साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरु सहितका स्टलहरुको व्यवस्थापन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*