रमेशराज भट्टराई र प्रतिमा अर्यालसँग रमे मनहरी महाेत्सवका दर्शक

माघ, हेटौडा (मनहरी) – पाँचौ संस्कारण मनहरी महोत्सवको बुधबार चर्चित दोहोरी गायिका प्रतिमा अर्याल र लोक आधुनिक गायक रमेशराज भट्टराईकाे गीतमा दर्शकहरुले मनाेरञ्जन लिएका छन् ।
उनीहरुले आफ्ना दर्जनौँ लोकप्रिय र चर्चित गीतहरु प्रस्तुत गर्दा दर्शकहरुले उत्तेजित हुँदै नाचेर साथ दिएका थिए । गायक भट्टराई ‘बेहुला बनाउँछु भन्थी, बहूला बनाएर गई’ बोलको लोकप्रिय गीतका गायक हुन् । उनले उक्त बोलको गीत सहित ‘टन्न पैसा कमाउन मन थ्यो, सुखैसुखमा रमाउन मन थ्यो’ लगायतका लोकप्रिय गीतहरु गाएका थिए । उनले गीत गाइरहँदा दर्शकहरुले उनीसँगै गाएर र नाचेर साथ दिएका थिए ।
काठे लोक भाकाका चर्चित गायिक तथा मकवानपुरे सर्जक प्रतिमा अर्यालले ‘कि कटाइदेउ एइ गनगन थानकोटको डाँडो, कि त ल्याइदेऊ मेटासिड एक भाँडो’ बोलको गीतसहित ‘सेतो सेतो ए माया कमेरो माटो, झल्को आउँछ नहिँड त्यो बाटो’ बोलको गीत र अन्य लोकदोहोरी गीतहरु गाएकी थिइन् ।
उनीहरुसँगै कार्यक्रममा जिवी सुनार, आयुष्मा केसी, जसु अधिकारी र रुयल सुनारसहित आस्था कला केन्द्रका कलाकारहरुको प्रस्तुति थियो । साथै कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुर शाखाले आयोजना गरेको लाइभ दोहोरी गीत प्रतियोगिता जारी नै छ।
मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ ।