मनहरी ४ नम्बर वडालाई उपाध्यक्ष कप भलिबलको उपाधि

तामसालिङ खबर
२७ माघ २०८०, शनिबार ०६:२३

माघ, हेटौडा (मनहरी) – प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मनहरी गाउँपालिका ४ नम्बर वडाले हात पारेको छ । प्रतियोगितामा ३ नं वडाको टिमले उपविजेतामा चित्त बुझायो ।

मनहरी गाउँपालिका ४ गोलघरस्थित खेल मैदानमा माघ २३ गतेदेखि जारी प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलको पाँचौ सेटमा १५–११ अंकमा ४ नम्बर वडाले जीत निकालेको हो । त्यसअघिका भएका ४ सेट खेलमध्ये पहिलो सेट ४ नम्बर वडाले २५–२३ अंकमा सकसका साथ जितेको थियो ।

त्यसपछिका दोस्रो र तेस्रो सेटमा २५–१९ र २५–१७ मा लगातार वडा नम्बर ३ ले जीत हासिल गरेपछि अत्तालिएको ४ नम्बर वडाले पुनः चौथो सेटमा ३ नम्बर वडालाई ब्रेक लगाएको थियो । दुबै टिमले २, २ सेट जीत हासिल गरेपछिको अन्तिम १५ अंकको सेटमा ४ नम्बर वडाले ३ नम्बर वडालाई १५–११ मा पराजित गरिदिएको थियो ।

बिजेता र उपबिजेता टिमलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर लगायत प्रमुख अतिथि, बिशिष्ट अतिथि र अतिथिहरुले शिल्ड, प्रमाण पत्र र पुरस्कार रकम बितरण गरेका थिए ।

बिजेता ४ नम्बर वडाको टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने ३ नम्बर वडाले ३० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतियोगितामा बेस्ट सटर ४ नम्बर वडाका प्रज्वल अधिकारी, बेस्ट डिफेन्डर वडा नम्बर ३ का इमान सिं थिङ, बेस्ट ब्लकर वडा नम्बर ३ का अजित थिङ, बेस्ट स्पाइकर वडा नम्बर ३ कै आशिष मुक्तान, उदयीमान खेलाडी वडा नम्बर ४ का रञ्जन बिडारी घोषित भए ।

उनीहरु प्रत्येकले ट्रफी, प्रमाणपत्र तथा नगद ३ हजार रुपियाँ प्राप्त गरेका थिए । त्यसैगरी बेस्ट कोच ४ नं वडाका रामेश्वर कार्की घोषित भए । बेस्ट प्लेयरको रुपमा प्रमाणपत्र, ट्रफी र नगद ५ हजार रुपियाँसहित वडा नं ४ का जोसन गौतमले प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*