सालक जोगाउन सचेतना कार्यक्रम

दिल बहादुर लामा
८ जेष्ठ २०८१, मंगलवार २१:२५

मनहरी । लोपोन्मुख बन्यजन्तु सालकको संरक्षण तथा उचित ब्यवस्थापनका बारेमा सचेतना कार्यक्रम गरिएको छ । सब डिभिजन वन कार्यालय राक्सिराङ र तराई भुपरिधि कार्यक्रमको आयोजनामा मंगलबार कार्यक्रम गरिएको हो ।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न सामुदायिक वनका पदाधिकारी तथा प्रतिनिधिहरु सहभागी थिए ।
कार्यक्रममा मकवानपुरमा सालकको उपस्थिति, यसको महत्व तथा संरक्षणमा देखिएका चुनौतीका बिषयमा चर्चा गरिएको थियो ।

वन अधिकृत दिनेश सत्यालले सालकको जीवनचक्र, मानव जीवनमा यसको उपयोगिता लगायत बिषयमा सहजीकरण गर्नुभयो । उहाँले सालकको अवैध चोरीसिकारी गर्दा हुने दण्ड सजायको बारेमा पनि प्रस्ट पार्नुभयो ।

डिभिजन वन अधिकृत लोकराज नेपालले मानवजीवनमा उपयोगी र फाइदाजनक जीव भएकाले सालक संरक्षणमा चौतर्फि पहल हुनुपर्ने बताउनुभयो । विभिन्न तहका सरकार, वन कार्यालय तथा स्थानीय समुदायको सक्रियतामा यसको संरक्षण गरि लाभ प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

मकवानपुरका उच्च तथा मध्य भागमा सालक पाइने गरेको छ । सालकलाई मकवानपुरकै गौरवको प्राणी समेत घोषणा गरि संरक्षणका काम भइरहेका छन । संरक्षणकर्मीहरुले यसलाई किसानको साथी, माटो इन्जिनियरका रुपमा समेत लिने गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*