बिद्यार्थीलाई खाजाको लागि जनजागरण समाजको आर्थिक सहयोग

तामसालिङ खबर
३२ श्रावण २०८१, शुक्रबार २०:४०

राजकुमार के.सी.
हेटौंडा । ३२ साउन/बर्षे बिदामा समेत बिद्यालय नियमितरुपमा सञ्चालन गरेको थाहा नगरपालिका वडा नं. २ स्थित घाटदेबी निमाबिका बिद्यार्थीहरुलाई दिवा खाजाको ब्यवस्थापन गर्न जनजागरण समाज, थाहा २ को तर्फबाट ३४ हजार ८ सय साठ्ठी रुपैंया नगद हस्तान्तरण गरेको छ ।

२०७९ मा स्थापना भएको जनजागरण समाजले समाजका सदस्यहरुबाट संकलन गरेको उक्त रकम बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई दिवा खाजा ब्यवस्थापनका लागि सहयोग गरेको समाजका सहसंयोजक माधव कार्कीले बताए ।

शुक्रबार बिद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उक्त रकम समाजको तर्फबाट बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि नियमानूसार नगरपालिकाले निर्धारण गरेको बिदाको समयमा पनि बिद्यालय सञ्चालन गरिएको बिद्यालयका प्रधानाध्यापक दिपक कार्कीले बताए । उनले बिद्यालयका बिद्यार्थीहरुका लागि दिवा खाजा ब्यवस्थापनका लागि जनजागरण समाजको आर्थिक सहयोग महत्वपूर्ण भएको बताए ।
सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने बिद्यार्थीहरुका लागि प्रति बिद्यार्थी १५ रुपैंयाको दरले प्रत्येक बर्ष १ सय ८० दिन बराबरको रकम बिद्यालयलाई उपलब्ध गराउने बताउँदै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर तामाङले उक्त रकम पर्याप्त नहँुदा समाजले गरेको आर्थिक सहयोगले खाजा ब्यवस्थापनमा सहज हुने बताए । बिद्यालयले बार्षिक २ सय २० भन्दा बढी दिन बिद्यालय खुल्ने र उक्त दिन नियमित रुपमा बिद्यार्थीहरुलाई खाजा खुवाउने समेत अध्यक्ष तामाङले बताए ।

रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष बमबहादुर सिन्तानले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि बिद्यालयको मेहनत महत्वपूर्ण भएको बताए । उनले बिद्यालयलाई जनजागरण समाजले गरेको सहयोगले शैक्षिक विकासमा सहयोगी हुने बताए । समाजको सकारात्मक विकासकालागि शैक्षिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने समेत अध्यक्ष सिन्तानले बताए ।

कार्यक्रममा जागरण समाजका सहसंयोजक माधव कार्की, सचिव बिकेशबाबु बस्नेत, पालुङगढी संरक्षण समितिका अध्यक्ष अजय कार्की, पालुङ जेसीज बर्ष २०२४ का उपाध्यक्ष नारायण कार्की लगायत बिद्यालयका शिक्षक, बिद्यार्थीको उपस्थिति रहेको थियो ।
बिद्यालयमा बालविकास केन्द्र सहित कक्षा ८ सम्म १ सय २८ जना बिद्यार्थी अध्ययनरत छन् । थाहा नगरपालिकाले पालिकाका सामुदायिक बिद्यालयहरुमा साउन १३ गतेदेखि भाद्र ३ गतेसम्म बर्षे बिदा निर्धारण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*