सोनाम ल्होछारको अवसरमा शीतल निवासमा राष्ट्रपतिद्वारा पूजापाठ

माघ (काठमाडौं) – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच दीप प्रज्वलन गरी सोनाम ल्होछारको शुभारम्भ गरेका छन्। सो क्रममा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोच्चारण गरे। साथै, तामाङको सांस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो।
सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।
सोनम ल्होसार पर्वको शुभारम्भ कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको बताए।
राष्ट्रपति पौडेलले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको शुभकामना व्यक्त गरे।
पूजापाठ कार्यक्रममा ल्होछार मूल आयोजक समितिका संयोजक मोहन गोले तामाङले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारका लागि पहिलोपटक राष्ट्रपति निवासमा यसखालको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे। ‘इतिहासमै पहिलोपटक राष्ट्रपति निवासमा यसखालको पूजापाठ गरेर अपनत्व लिनुभएको छ। यसले निरन्तरता पाउने आशा गरेको छु,’ तामाङ घेदुङका अध्यक्षसमेत रहेका गोलेले भने।
राष्ट्रपति कार्यालयले पहिलोपटक सोनाम ल्होछारको अवसरमा शुभकामना तथा पूजापाठ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्वमन्त्री तथा सांसदसहित तामाङ सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तामाङ समुदायले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी देश तथा विदेशमा ल्होछार मनाउँदैछन्। ल्होछार मूल आयोजक समितिले भने भोलि बुधवार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा ल्होछार इभ मनाउने र बिहीबार वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ। चन्द्रपात्रो अनुसार माघ १७ गते डुक अर्थात् ड्रागन वर्गको बिदाइ र डुल अर्थात् सर्प वर्ग लाग्दैछ। ल्होछार तामाङ समुदायको नयाँ वर्ष हो।