तामाङ समुदायको आज साँस्कृतिक पर्व सोनाम ल्होछार, विश्वभर विविध कार्यक्रम गरि मनाइदै

माघ, हेटौडा – तामाङ समुदायले साँस्कृतिक पर्बको रुपमा आज नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व मनाउँदैछन् । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक तथा साँस्कृति पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ ।
चन्द्र मासमा आधारित मञ्जुश्री पात्रो अनुसार आजदेखि तामाङ समुदायले गरुड (डुक/मु पुख्री ल्हो) वर्षलाई विदाई गरी सर्प (डुल/सा पुख्री) वर्षलाई स्वागत गरेका छन् । यो २८६१ सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो ।
आज घर-घरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ। १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । आज सोनाम ल्होछारको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा समेत दिएको छ ।
ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले कार्यक्रमको उद्घाटन गरिने भएको छ। मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछार भब्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं भन्ने मुल नाराका साथ काठमाडौंस्थित टुँडिखेलमा मनाईने ल्होछारको रौनक मंगलबारदेखि नै सुरु भएको हो ।
तीनसम्म मनाइने ल्होछारको पहिलो दिन मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा शुभकामना आदानप्रदान गरिएको छ । ल्होछार माघ शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मनाउने भएपनि विशेष गरेर तामाङ समुदायले पाँच दिनसमम भव्य रुपमा मनाउने प्रचलन रहेको छ ।
तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको हेटौडामा आज सोनाम ल्होछार महोत्सब हुँदै छ। त्यस्तै आजै पश्चिम मकवानपुरको मनहरीमा ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुँदै छ। साङ्ग छ्योइफेल गुम्बा बुद्धशान्ति हरित पार्क परिसरमा २ दिन हिजो र आज ल्होछार मेला भैरहेको छ । मकवानपुरको अधिकांश क्षेत्रमा ल्होछार कार्यक्रमहरु भैरहेको छ।
नेपालका तामाङ सहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक–फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।