वनमन्त्री सिलवालले गरे जलपरी झरना तथा चमेरो गुफा अनुगमन

तामसालिङ खबर
२१ माघ २०८१, सोमबार ०८:३७

राक्सिराङ । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण प्रसाद सिलवालले राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको जलपरी झरना तथा चमेरो गुफाको अनुगमन तथा अवलोकन गर्नुभएको छ ।

सिद्धार्थ हरियाली सामुदायिक वनको बार्षिक भेलामा सहभागी हुन राक्सिराङ पुग्नुभएका उहाँले जलपरी झरना उत्कृष्ट पर्यटकिय गन्तव्य बन्ने बताउँदै स्थानीय समुदाय र सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । प्राकृतिक रुपमा मनमोहक जलपरी झरना र पौराणिक महत्वको चमेरो गुफा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य बन्ने उहाँले बताउनुभएको हो ।

उहाँले सो क्षेत्रमा रहेको प्राकृतिक संरचनाहरु लाई असर नपर्ने गरी थप पर्यटकिय पुर्वाधार निर्माण गर्न सकिने बताउनुभयो । जसका लागि बागमती प्रदेश सरकारले बजेट बिनियोजन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सो क्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्रदेश सरकारबाट प्राप्त समपुरक बजेटले केही पुर्वाधार बनाइए पनि बजेट अभावमा सोचेअनुसारको संरचना बनाउन नसकिएको बताउनुभयो । गाउँपालिकाले मकवानपुर जिल्लाकै प्रमुख पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्ने गरि डिपिआर तयार गरीसकेको बताउँदै उहाँले आवश्यक बजेटका निम्ति पहल गरिदिन मन्त्री सिलवाललाई आग्रह गर्नुभयो ।

राक्सिराङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष उत्तम वाइबा, निवर्तमान वडा अध्यक्ष बाबुलाल स्याङतान, सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ज्ञानेन्द्र तामाङलगायतले सो क्षेत्रको पौराणिक तथा समाजिक महत्वबारे जानकारी गराउँदै पर्यटन विकासको सम्भावनाबारे बताउनुभएको थियो ।

सामुदायिक वनका अध्यक्ष तामाङले सो क्षेत्रलाई पार्कको रुपमा विकास गरी समुदायको जिविकोपार्जन र आयआर्जनसँग जोडेर गतिविधि सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*