खोखो विश्वकप प्रतियोगिताका रजत पदक विजेता खेलाडी बललाई सम्मान

हेटौंडा । खोखो विश्वकप प्रतियोगितामा रजत पदक विजेता खेलाडी राजन बललाई सम्मान गरिएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–२ द्वारा आयोजित खेलकुद कार्यक्रममा खेलाडी बललाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडी बललाई सम्मान पत्र हस्तान्तरण गर्दै आगामी खेल जीवन अझ सफल होस भन्दै शुभकामना दिए ।
मन्त्री महर्जनले खेल क्षेत्र तथा खेलाडीहरुले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै प्रसंशा गरे ।
उनले युवा तथा खेलकुद मन्त्रालय खेल क्षेत्रको विकास र खेलमार्फत् प्रदेश र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने वातावरण बनाउन केन्द्रीत रहेको उल्लेख गरे ।
पदक दिलाउने खेलाडीहरुलाई बागमती प्रदेश सरकारले कार्यविधि नै बनाएर आगामी दिनमा अझै व्यवस्थित ढंगबाट सम्मान तथा प्रोत्साहन राशी प्रदान गर्न लागेको भन्दै त्यसका लागि तयारी तीब्र पारिएको उनले बताए ।
खेलाडी बल इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ का स्थायी बासिन्दा हुन् ।