हेटौंडामा मनाइयो भाषा दिवस, नेपाल भाषा र तामाङ भाषाको बिज्ञलाई सम्मान

बैशाख, हेटौंडा – बागमती प्रदेशमा भाषा ऐन कार्यान्वयन भएको अवसरमा प्रदेश सरकारले प्रदेश भाषा दिवस मनाएको छ । बुधबार एक समारोहका बीच प्रदेश सरकारले भाषा दिवस मनाएको हो ।
ऐन बनाएर नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याएको दिन वैशाख २४ लाई प्रदेश सरकारले हेटौंडामा विशेष समारोहको आयोजना गरेर भाषा दिवस मनाएको हो । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा हेटौंडाको हुप्रचौरबाट प्रभातफेरीको आयोजना गरिएको थियो ।
प्रभातफेरी कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी लगायतको सहभागिता थियो । प्रभातफेरीमा नेवारी, तामाङ, मगर समुदाय मौलिक पोशाक, बाजासहित सहभागी भएका थिए । प्रभातफेरी पश्चात सभाको आयोजना भएको थियो । पर्यटन मन्त्री ठकुरीको अध्यक्षता तथा मुख्यमन्त्री लामाको प्रमुख आतिथ्यमा भाषा दिवस समारोह भएको हो ।
भाषा दिवसको अवसरमा मल्ल के सुन्दर र अजीतमान तामाङलाई सम्मान पनि गरिएको थियो । प्रदेश भाषा दिवसकै अवसरमा काठमाडौँमा पनि कार्यक्रम भएको छ । दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिएको थियो । मुख्यमन्त्री लामाले नागरिकको अपनत्व हुने गरी भाषा तथा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले नागरिकको पहिचान र संस्कृतिलाई स्थापित गर्न प्रदेश सरकार प्रयासरत रहेकोमा जोड दिए ।
उनले भाषिक कारण हुने द्विविधालाई प्रदेश सरकारले केही हदसम्म निराकरण गर्न सफल भएको दावी गरे । उनले भाषा तथा संस्कृतिमा आम नागरिकहरूको अपनत्व हुनुपर्ने धारणा राखे । मुख्यमन्त्री लामाले संविधानले प्रदत्त गरेको अधिकार अनुरूप नै प्रदेश सरकारले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरिएको दावी गरे । कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री ठकुरीले संघीयता कार्यान्वयनमा भाषा सम्बन्धी ऐन महत्वपूर्ण रहेको बताए ।