मनसुनको पूर्वतयारी स्वरुप राक्सिराङ्गमा विपद् व्यवस्थापन समिति बैठक सम्पन्न

तामसालिङ खबर
१३ जेष्ठ २०८२, सोमबार १८:३९

जेठ, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकामा विपद् व्यवस्थापन समिति बैठक सोमबार सम्पन्न भएको छ। प्रि-मनसुनमा हुन सक्ने प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वतयारीका लागि बैठक बसेको हो।

बैठकमा चट्याङ्ग पूर्वसूचना प्रणालीको जडान, भाडाकुडा तथा सिरक डसना खरिद, डडेलो व्यवस्थापन सम्बन्धी तालिमको सञ्चालन तथा प्रभावितहरूलाई राहत वितरण लगायतको जानकारी गरिएको थियो।

बैठकले प्रि-मनसुन अवधिमा आउने हावा हुरी तथा भारी वर्षाका कारण हुन सक्ने क्षतिको आँकलन गरी पूर्वतयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। साथै, विपद् व्यवस्थापनमा संलग्न स्वयमसेवकहरूलाई सुरक्षा निकायको समन्वयमा कृत्रिम अभ्यास सहितको पुनर्ताजगी तालिम सञ्चालन गरिने भएको छ । यस्तै, विपद्को कारण क्षति पुगेका मोटरबाटोलाई ग्रावेल गर्ने, हेलिप्याड, खानेपानी मुहान र पाइपलाइनको सुरक्षा, खुला ठाउँ तथा आश्रयस्थलको व्यवस्थापनमा विशेष ध्यान दिने, सूचनाप्रति चनाखो रहने र क्षति भएका घटनाहरू तत्काल नगर प्रहरीलाई जानकारी गराउने निर्णय गरिएको छ।

गाउँपालिका अध्यक्ष राज कुमार मल्लले बैठकको समापनमा बोल्नुहुदै प्राकृतिक विपद् व्यवस्थापनमा स्थानीय तहको सक्रियता र समन्वय अपरिहार्य रहेको भन्दै समुदायस्तरमा समेत सजगता र सहभागिता जरुरी रहेको बताए। विपद् पूर्वतयारी नै प्रभावकारी व्यवस्थापनको आधार हो। हामी सतर्क र सशक्त भएर अगाडि बढ्नुपर्छ।” उहाले भन्नुभयो ।

बैठकमा सहभागी सरोकारवाला निकायहरूले आ-आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। गाउँपालिका अध्यक्ष राज कुमार मल्लको अध्यक्षतामा बैठक भएको थियो। त्यस्तै बैठकमा उपाध्यक्ष बनस्तम थिङ, प्रशासकीय प्रमुख पदम बहादुर बस्नेत, वडा अध्यक्षहरू, रेडक्रस प्रतिनिधि, प्रहरी चौकी चैनपुर, नगर प्रहरी लगायत सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*