बजार क्षेत्रमा यात्रुलाई दु:ख दिने गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न निर्देशन

तामसालिङ खबर
२७ जेष्ठ २०८२, सोमबार २१:२९

जेठ, हेटौँडा – बागमती प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले प्रदेश प्रहरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न निरन्तर क्रियाशील रहेको स्पष्ट गर्नुभएको छ।

प्रदेश प्रहरी कार्यालयमा सोमबार आयोजित सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख पौडेलले अपराध न्युनीकरण, नियन्त्रण तथा छिटो र प्रभावकारी अनुसन्धानका माध्यमबाट जनतामा सुरक्षा अनुभूति गराउनेतर्फ प्रहरी केन्द्रित रहेको बताउनुभयो। उहाँले ट्राफिक व्यवस्थापन, भिड नियन्त्रण, विशिष्ट व्यक्तिहरुको सुरक्षा, विपद् व्यवस्थापन लगायतलाई प्राथमिकतामा राखेर प्रदेश प्रहरीले काम गरिरहेको जानकारी दिनुभयो।

प्रहरी प्रमुख पौडेलले अपराध हुन नदिन प्रहरी समुदाय साझेदारी कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाइएको उल्लेख गर्दै जिल्लाका विभिन्न स्थानमा स्थानीय प्रहरी कार्यालयमार्फत यस्ता कार्यक्रमहरु संचालन भइरहेको जानकारी दिनुभयो। साथै, गुण्डागर्दी, हिंसा र समाजविरोधी गतिविधिहरुप्रति प्रहरी शून्य सहनशीलताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

हेटौंडा बजार क्षेत्रमा झोला तान्ने तथा यात्रुहरुलाई दु:ख दिने गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न उहाँले सम्बन्धित प्रहरी र ट्राफिक कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का, ट्राफिक कार्यालय प्रमुख बच्चुराम फुँयाल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*