दामनको छ्युमी ज्याङ्छ्युप (ऋषेश्वर) मा गुरु रेम्पोर्छेको मुर्ति अनावरण

जेठ, हेटौडा (थाहा नगर) – उत्तरी मकवानपुरको दामनमा अवस्थित बौद्ध हिन्दु धर्मालम्बीहरुको पवित्र धार्मिक स्थल (छ्युमी ज्याङछ्युप) ऋषेश्वर मन्दिरमा गुरु रेम्पोर्छे (पदम सम्भव)को मूर्ति अनावरण गरिएको छ।
सिमभन्ज्याङ र दामनको बीच भागमा पर्ने छ्युमी ज्याङछ्युपमा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको श्रद्धा केन्द्रका रूपमा चिनिन्छ। यो स्थान बौद्ध धर्मगुरु पद्मसम्भव (गुरु रिन्पोछे) सँग गाँसिएको ऐतिहासिक मान्यताले धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्व राख्दछ। ध्यान केन्द्रका रूपमा समेत चर्चित यस मन्दिरमा तत्कालीन राजा त्रिभुवनले पूजा गरी सन्तानको वर मागेको र त्यसपछि राजा महेन्द्रको जन्म भएको भन्ने किंवदन्ती प्रचलित छ।
पद्मवर्ण महायान बिहार गुम्बा, ललितपुर, वडा नं. ६, ज्याठावहा, ओकुवहालबाट प्राप्त गुरु रिन्पोछेको मूर्ति बागमती प्रदेश सभा सदस्य माननीय कुमारी मुक्तानद्वारा अनावरण गरिएको हो। मुर्ती प्रतिष्ठा गर्दै प्रदेश सभा सदस्य कुमारी मोक्तानले ऋषेश्वर मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना अझ प्रगाढ रहेकोमा मूर्ति स्थापना कार्यक्रमले हिन्दु-बौद्ध सहिष्णुता र साझा आस्थाको सन्देश फैलाएको विश्वास आफुले पाएको बताए।
मुर्ति प्राण प्रतिष्ठा समारोहमा महायान बिहारका श्रद्धालुहरू, ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष विनोद कुमार लामा, वडा नं. ४ का अध्यक्ष नारायण लामा, तथा समिति सदस्यहरू निरोज प्रधान, शम्भु सिंह कार्की लगायतको उपस्थिति रहेको थियो।
पूजासहित पद्मसम्भवको मूर्तिमा प्राण प्रतिष्ठा सहित वाङ आयुबाट अभिषेक पूजा कार्यक्रम समेत भएको थियो।पद्मसम्भवले खोटाङको हलेसी मारातिका गुफामा अभितायुष बुद्धको साक्षात् दर्शन गरी अमरत्व सिद्धि प्राप्त गर्नुभएको थियो । त्यसैगरी उहाँले दक्षिणकाली नगरपालिकाको फर्पिङमा बुद्धत्व प्राप्त गर्नुभएको थियो । त्यस्तै दामनको ऋषेश्वर (छुमि ज्याङ्छुप), काभ्रे तिमाल (यारी नाग) संखुवासभाको खेन्पालुङ, दोलखाको रोल्वालिङ, हेलम्बु, मुस्ताङ आदि स्थानमा पनि आचार्य पद्मसम्भवले ध्यान साधना गर्नुभएको भोट वाङ्मयमा उल्लेख गरिएको पाइन्छ ।