कैलाश गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चिता पालिका

जेठ, कैलाश – मकवानपुरको कैलाश गाउँपालिका पहिलो पटक पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । गाउँपालिकालाई शुक्रबार एक कार्यक्रमका बिच बागमती प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरेका हुन्। खोप सँगै पूर्ण संस्थागत गर्भजाँच गाउँपालिका भनी पनि घोषणा गरिएको हो।
पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम यहीँ जेष्ठ २५ गते सम्ममा १६ महिनादेखी २३ महिना सम्म सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेकोले कैलाशलाई जिल्ला पूर्णखोप समन्वय समितिको सचिवालयले पूर्णखोप सुनिश्चिता गाउँपालिकाको प्रमाणपत्र प्रदान गरे सँगै कैलाशलाई घोषणा गरिएको हो । खोप समन्वय समिति गाउँपालिकाका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षता तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा ४२ जना स्वास्थ्यकर्मीलाई प्रशंसापत्र प्रदान गरिनुका साथै वडाका १० वटा स्वास्थ्य चौकी, ७ वटा स्वास्थ्य र शिक्षा क्षेत्रका काम गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार गणेश दुलाललाई नगद सहित सम्मान गरिएको थियो । सोही अवसरमा खोप कार्यमा सक्रिय रहेका उत्कृष्ट तीन स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो भने तीन उत्कृष्ट स्वास्थ्य चौकीलाई पनि सम्मान गरिएको थियो ।
गाउँपालिका घोषणा अघि बैशाखको अन्तिम सातामा पूर्णखोप वडा सुनिश्चित घोषणा गरिएको थियो । कार्यक्रममै वडा घोषणा भएको प्रमाणपत्र वडाध्यक्ष र स्वास्थ्य चौकी प्रमुखहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
भौगोलिक दृष्टिले विकटता रहेको गाउँपालिका स्वास्थ्य र शिक्षाको क्षेत्रमा विस्तारै फड्को मार्दै आइरहेको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।