राक्सिराङ्ग गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

असार, राक्सिराङ्ग (चैनपुर) – मकवानपुरको राक्सिराङ गाउँपालिकाले विकट क्षेत्रको स्वास्थ्य सेवामा एउटा महत्वपूर्ण उपलब्धि हासिल गर्दै बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएको छ।
घोषणा कार्यक्रममा खोप पूर्णता गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाहरूलाई विशेष सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो। साथै, प्रत्येक वडालाई खोप पूर्णताको प्रमाणपत्र वितरण गरी आगामी दिनमा पनि स्वास्थ्य सेवाको दिगो विकासका लागि प्रोत्साहन दिइएको थियो।
“दुर्गम क्षेत्र भएपनि हाम्रो गाउँपालिकामा १६-२३ महिनाका सबै बालबालिकाहरूले पाउनुपर्ने सबै खोप प्राप्त गरेका छन्। यो सफलता हाम्रो स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक तथा सबै सरोकारवालाको अथक परिश्रम र सहकार्यको नतिजा भएको गाउँपालिका अध्यक्ष राज कुमार मल्लले बताउनुभयो।,”
गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, स्वास्थ्य कार्यालय मकवानपुरको जनस्वास्थ्य अधिकृत दिलेन्द्र बुढा मगर र निरीक्षक बासुदेव रिमालले पनि स्वास्थ्य सेवाको पहुँच र गुणस्तर वृद्धिका लागि विभिन्न योजना अघि सार्ने जानकारी दिए।
प्रशासकीय प्रमुख अधिकृत पदम बहादुर बस्नेतले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको यो ऐतिहासिक उपलब्धि सबैको एकजुट प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि अझ प्रभावकारी सेवा प्रवाह गर्न प्रशासनिक तर्फबाट सम्पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
“सबैको सक्रिय सहभागिता र सहकार्यकै कारण राक्सिराङले यो उपलब्धि हात पारेको हो। आगामी दिनमा पनि नियमित सचेतना, निगरानी र साझेदारीलाई प्राथमिकतामा राख्दै खोप कार्यक्रमलाई अझै सशक्त बनाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले भन्नुभयो,।”
राष्ट्रिय पूर्ण खोप निर्देशिका अनुसार अब राक्सिराङ्ग गाउँपालिका पनि पूर्ण खोप सुनिश्चित गर्ने पालिकाको सूचीमा आधिकारिक रूपमा समावेश भएको छ। यस घोषणाले गाउँपालिकालाई बाल स्वास्थ्य सुरक्षाको क्षेत्रमा नयाँ उचाइमा पुर्याएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाअध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष बनस्तम थिङ, गाउँपालिकाका प्रशासकीय प्रमुख अधिकृत पदम बहादुर बस्नेत, स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत दिलेन्द्र बुढा मगर, जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल, गाउँपालिकाका वडाध्यक्षहरू, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, जनप्रतिनिधि तथा अन्य सहभागीहरूको उल्लेखनीय उपस्थिति थियो।