मौलिक संस्कृति बचाउन राक्सिराङमा टुङना-डम्फु प्रशिक्षण

तामसालिङ खबर
७ असार २०८२, शनिबार ०६:५८

असार, हेटौडा (राक्सिराङ्ग ) – मौलिक संस्कृतिहरू लोप हुँदै जान थालेपछि राक्सिराङ गाउँपालिकाले तिनको संरक्षण तथा प्रवर्द्धनमा सक्रियता देखाएको छ। यसै क्रममा गाउँपालिकाले १५ दिने टुङना तथा डम्फु प्रशिक्षण कार्यक्रम सुरु गरेको हो।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा शुक्रबार मनहरीमा आयोजित एक कार्यक्रमबीच प्रशिक्षणको उद्घाटन गरिएको थियो। अध्यक्ष मल्लले तामाङ समुदायको मौलिक बाजा टुङना र डम्फु बनाउने तथा बजाउने परम्परा हराउँदै गएकाले त्यसको पुनरुत्थानका लागि यो प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । नयाँ पुस्तामा परम्परागत सीपको अभाव रहेको उल्लेख गर्दै उहाँले यो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उपाध्यक्ष बनस्तम थिङले तामाङ समुदायसँग अहिले थर मात्र बाँकी रहेको अवस्थाले मौलिकता जोगाउन अझै गम्भीर हुनुपर्ने बताउनुभयो । तामाङ तथा चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङमा भाषा, भेषभूषा, गीतसंगीत जस्ता मौलिक पहिचानलाई जीवित राख्न गाउँपालिकाले प्रयास गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेशका निवर्तमान सांसद ओम घलान, ३ नम्बर वडाध्यक्ष उत्तम वाइबा, तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङ, सञ्चारकर्मी शिवकुमार काशी लगायतको आतिथ्यता रहेको थियो। गाउँपालिकाले मनहरीस्थित एकेडमिक अर्थ इन्स्टिच्युटसँग सहकार्य गरी प्रशिक्षण सञ्चालन गरेको हो ।

प्रशिक्षक छेवाङ तेञ्जिङ्ग लामाले टुङना र डम्फु बजाउने तालिम सिकाउने छ । तालिममा राक्सिराङका सबै वडाबाट करिब ५० जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*