फूलपाती देखि मनहरीको बसन्तपुर गुम्बामा ञ्युङ्ने मौनव्रत शुरु हुने

असोज, मनहरी – पश्चिम मकवानपुरको मनहरी ५, बसन्तपुरमा तीन दिन निराहार ञ्युङ्ने मौनव्रत हुने भएको छ । मौनव्रत बसन्तपुर गुम्बा टोल स्थित टासी छ्योईलिङ गुम्बामा असोज १३ गते देखि तीन दिन महाकरुणीमय आर्य अवलोकितेश्वर (चेनरेसी) को ञ्युङ्ने मौनव्रत सुरू भएको छ।
दशैँका बेलामा शक्ति पिठ र देवदेवीको नाममा लाखौं निर्दोष पशुपंक्षीहरूको बली चढाईने भएकोले मुक्तिका लागि कामना गर्दै सबै प्राणीप्रति करुणा र बोधिचित्तको भावना जागृत गराउने उद्देश्यले मौनव्रत आयोजना गरिएको हो ।
नेपाल अहिंसावादी बौद्धधर्म चक्र संघको गुरु लोपेन ङवाङ दोर्जे लामाको आतिथ्यतामा हुने व्रत असोज १३ देखि १६ गतेसम्म व्रत सन्चालन हुनेछ। असोज १३ गते फूलपातीको दिन लामा गुरु, आनीज्योमो, मणिपा र उपासक उपासिकाहरू जम्मा, १४ गते बिहान शिल ग्रहण (सोक्ज्योङ) गरिनेछ भने असोज १५ गते नवमीको दिन मौनव्रत (कुक्पा) बसिनेछ।
अन्तिम दिन असोज १६ गते दशमीको बिहान ६ बजे व्रत विसर्जन गरिनेछ। प्रवचन, पुजापाठ प्रसाद (छोग) ग्रहण गरी कार्यक्रम समापन हुने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष राजाराम स्याङ्तानले जानकारी दिनुभयो ।