राक्सिराङ्गको ‘ठाडेचुरी र ठाडे पूर्ण सरसफाई उन्मुख टोल घोषणा’

५८ घरधुरीलाई फिल्टर र शौचालय कार्ड वितरण
तामसालिङ खबर
८ मंसिर २०८२, आईतवार ०७:४३

मंसिर, हेटौडा (राक्सिराङ्ग) – पश्चिम मकवानपुरको राक्सिराङ्ग ५ ठाडेचुरी र ठाडे टोललाई शनिबार पूर्ण सरसफाई उन्मुख र सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ।खानेपानी तथा स्वच्छता कार्यक्रम अन्तर्गत ठाडेचुरी र ठाडेटोललाई पूर्ण सरसफाई उन्मुख र सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो।

गाउँपालिका अध्यक्ष मल्लले पूर्ण सरसफाई घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै, ‘राक्सिराङ्गको विकास अभियानमा महत्वपूर्ण प्रगति भएको बताउनुभयो।“हाम्रो बस्तीहरूलाई स्वास्थ्य र सरसफाईमैत्री बनाउनको लागि आरआरएन संस्थाले गाउँपालिकाको समन्वयमा अघि सारेको अभियानले गति पाएको छ।आगामी दिनमा बाँकी टोलहरूलाई पनि निरन्तर सरसफाई अभियानमा जोड्दै राक्सिराङ्गलाई पूर्ण सरसफाई बनाउने लक्ष्य रहेको बताउनुभयो।”

गाउँपालिकामा स्वच्छता र खानेपानीको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै हालसम्म १६ वटा टोललाई पूर्ण सरसफाई टोल उन्मुख घोषणा गरिसकेको छ।साथै, नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले ‘एक घर-एक धारा’ कार्यक्रम अन्तर्गत ८ सय ७० घरधुरीमा धारा स्थापना तथा ७ सय ५० घरधुरीमा पानी फिल्टर वितरण र खानेपानी आयोजनामा समेत लगानी गरिएको छ।

डेढ दर्जनभन्दा बढी सूचक निर्धारण गरी पूर्ण पालना भएपछि पूर्ण सरसफाई उन्मुख र स्वच्छ सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।राक्सिराङ्ग ५ का वडाअध्यक्ष हरिबहादुर प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राज कुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वनस्तम थिङ, आरआएनका कार्यक्रम संयोजक लिलबहादुर कार्की, स्वास्थ्य संयोजक विजय कापरी लगायतको उपस्थिति रहेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*