पाँच खानेपानी योजनाको लागि गाउँपालिका र वाइन टु वाटर बीच सम्झौता

तामसालिङ खबर
१३ मंसिर २०८२, शुक्रबार १४:२३

मंसिर, हेटौडा (राक्सिराङ्ग) – पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्राथमिकतामा रहेका पाँच वटा खानेपानी तथा सरसफाई योजनामा दातृ निकाय वाइन टु वाटर नेपालसँगको साझेदारीमा अघि बढाउने भएको छ। गाउँपालिका र वाइन टु वाटरको प्रतिनिधि बीच आज शुक्रबार ५ वटा योजनाको सम्झौता भएको हो।

सम्झौतामा गाउँपालिका अध्यक्ष राज कुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, वडा नम्बर ३ को वडा अध्यक्ष उत्तम वाइबा, वाइन टु वाटर नेपालको कार्यक्रम संयोजक यज्ञराज जोशी र प्रतिनिधिको उपस्थिति रहेको थियो।

गाउँपालिकाको अनुसार एक वर्ष भित्र सम्पन्न हुने योजनाहरुमा वडा नं. १ को माथिल्लो ढुङ्गेनि-तल्लो खानेपानी तथा सरसफाई योजना, वडा नं. ९ का झामराङ, कर्कटा, तल्लो गाउँ, कोदेबाङ खानेपानी तथा सरसफाई योजना, वडा नं. ८ को कालिथान–हात्तिखोला खानेपानी तथा सरसफाई योजना, वडा नं. ७ को काकुलिङ खोला–बेशी खानेपानी तथा सरसफाई योजना, र वडा नं. ६ को सिदाम खानेपानी तथा सरसफाई योजना रहेका छन्। सबै योजना स्थानीय समुदायसँगको सहकार्यमा अघि बढाइने वाइन टु वाटर नेपाल जनाइएको छ।

७५ प्रतिशत दातृ निकाय र २५ प्रतिशत गाउँपालिकाको बजेट लगानी रहने व्यवस्था गरिएको छ। वाइन टु वाटर नेपालले उक्त योजनाका लागि रु. १ करोड ७१ लाख ३ सय १३ रकम उपलब्ध गराउनेछ भने गाउँपालिकाले रु. ६५ लाख ७० हजार ४३ आर्थिक साझेदारी सुनिश्चित गरेको छ।

योजनामा उपभोक्ता समितिको सक्रिय सहभागिता रहनेछ भने १ सय ६५ घरधुरी लाभान्वित हुने कार्यक्रम संयोजक यज्ञराज जोशीले जानकारी दिनुभयो। स्थानीय उपभोक्ताबाट रु. २६ लाख ३० हजार बराबरको श्रमदान अपेक्षित गरिएको छ। पाँच वटै योजना सञ्चालनका लागि जम्मा रु.२ करोड ६३ लाख ८ हजार १ सय ७५ रुपैयाँ खर्च हुने भएकाले जनप्रतिनिधिहरूले यसलाई समुदायमा दीर्घकालीन प्रभाव पार्ने सामाजिक पूर्वाधारको रूपमा लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*