राक्सिराङ्गमा नारी सीपको सार्वजनिक सुनुवाई र सरोकारवालासँग बैठक
मंसिर, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकामा विभिन्न वडाहरुमा मकवानपुरमा सुरक्षित स्थानागमन प्रवर्द्धन परियोजना अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको नारी सीप सिर्जना केन्द्र नेपालको सार्वजनिक सुनुवाई र सरोकारवालाहरुसँग समन्वय बैठक सम्पन्न भएको छ।
सोमबार गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, वडाअध्यक्षहरु सहितको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा नारी सीप सिर्जना केन्द्र नेपालले गाउँपालिकाको विभिन्न ७ वटा वडाहरुमा सञ्चालन गरिरहेको सचेतनामुलक तथा जिविकोपार्जनसँग सम्बन्धित कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रम संयोजक ज्योति बम्जनले परियोजना अन्तर्गत सम्पन्न भएका विभिन्न कार्यक्रम, तालिम तथा सिचाई आयोजनाहरुको बारेमा जानकारी दिनुभयो ।
उहाँले परियोजनाको लागत, प्रभावकारिता सँगै लाभान्वित समुदायको जीवनस्तरमा आएको सुधारका बारेमा समेत चर्चा गर्नुभयो । नारी सीपका कार्यकारी निर्देश प्रबीण बास्तोलाले परियोजनामार्फत सञ्चालित कार्यक्रमहरु समुदायको माग र आवश्यकताका आधारमा रहेको बताउँदै कार्यक्रमको सहजीकरण गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले परियोजनाअन्तर्गत सञ्चालित मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा गाउँपालिकाको भुमिका र कार्ययोजनाबारे जिज्ञासा राखेका थिए । उनीहरुले परियोजनाअन्तर्गतका कार्यक्रमहरुको निरन्तर सञ्चालन गरिदिन आग्रहसमेत गरे ।
राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले परियोजनाले गाउँपालिकाको चौतर्फि विकासमा ईट्टा थप्ने काम गरेको बताउनुभयो । परियोजनाको कार्यक्रमहरु निरन्तर गरिदिन उहाँलेसमेत आग्रह गर्नुभयो ।
सुरक्षित बैदेशिक रोजगार तथा मानव वेचविखन नियन्त्रणको सवालमा परियोजनाले दिएको मार्गदर्शनमा गाउँपालिका गम्भीर भएका लाग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । परियोजनाकै मर्मअनुसार सेफ हाउस निर्माण तथा सञ्चालन गर्ने, बैदेशिक रोजगारमा समस्यामा परेकाहरुको उद्धार गर्ने, समाजमा आत्मनिर्भर बनाउन आवश्यक तालिम, सामाग्रीहरु प्रदान गर्ने कामहरु भइरहेको उहाँको भनाई छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, वडाअध्यक्ष उत्तम वाइबासमेतले परियोजनाले गाउँपालिकामा गरेको सहयोगकको तारिफ गर्नुभयो । नारी सीप सिर्जना केन्द्र नेपालका अध्यक्ष नानीमाया चापागाईले हाल सञ्चालित परियोजनाको समयावधि सकिन लागेको बताउँदै राक्सिराङको माग र आवश्यकताअनुसार थप कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले यहाँका जनप्रतिनिधि, स्थानीय तथा सरोकारवालको सहकार्यमा परियोजना सफलतापुर्वक सञ्चालन भएको उल्लेख गर्नुभयो ।
नारी सीप सिर्जना केन्द्र नेपालले एडब्लुओ इन्टरनेशनल, बिएमजेड सँगको सहकार्यमा मकवानपुरमा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना सञ्चालन गरेको हो ।






