कैलाशले बढायो, २ करोड ५१ लाख बजेट
पुष, कैलाश – मकवानपुरको कैलाश गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ। गाउँपालिकाको बिहीबार बसेको १७ औं गाउँसभाले आन्तरिक स्रोत तर्फबाट सञ्चालित २ करोड ५१ लाख रुपैयाँ संशोधित बजेट पारित गरेको हो।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सभामा पेश गरेको उक्त बजेट कार्यक्रमलाई अध्यक्ष लोक बहादुर मुक्तानले निर्णायार्थ पेश गरेका थिए । अध्यक्ष मुक्तानले पेश गरेको उक्त बजेट कार्यपालिका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका थिए ।
कैलाशले चालु तर्फ आन्तरिक स्रोत तर्फबाट ९ करोड ४२ लाख रुपैयाँ, पुजीँगत तर्फ १५ करोड ४८ लाख रुपैयाँ सहित कुल २४ करोड ९१ लाख रुपैयाँ संशोधित बजेट कार्यान्वयनमा लाने भएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट २ करोड ५१ लाख रुपैयाँ बजेट थप गरेको हो ।
यसअघि गत असार १० मा गाउँपालिकाले ५४ करोड २९ लाख रुपैयाँ बजेट ल्याएको थियो ।
कैलाशले उक्त बजेटमा समावेश भएको विशेष तथा सशर्त अनुदान वापतको रकम भने संशोधन गरेको छैन । कैलाशले १७ वटा आयोजनाहरु कटौति तथा हटाएको छ भने ४३ वटा योजनाहरु थप गरेको छ । १४ योजनामा रकम घटाउनुको साथै ४ योजनामा रकम थप गरेको छ ।
सभामा विद्यायन समितिका संयोजक भूवन सिं घलानले गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, गाउँपालिकाको बेरुजु फस्र्यौट कार्यविधि ०८२, गाउँपालिकाको लेखा समिति गठन तथा सञ्चालन कार्यविधि र गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि प्रस्तुत गरेका थिए।
त्यस्तै, उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले चालु आर्थिक वर्षको विनियोजन ऐन, बजेट तथा कार्यक्रमको संशोधित अनुमान विभिन्न एजेन्डाका विषय प्रस्तुत गरेका थिए ।





