गुम्बा डाँडामा २५ फिट अग्लो बुद्धको मुर्ती स्थापना गरिने

तामसालिङ खबर
२९ पुष २०७४, शनिबार ००:१३

हेटौडा । मकवानपुरको पर्यटकीय स्थल हेटौंडा १८ स्थित गुम्बा डाँडामा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेपछि लो डाँडाबाट गुम्बा डाँडा नाम रहन गएको गुम्बा डाँडालाई थप आकर्षक बनाउनका लागि करिब १ करोडको लागतमा २५ फिट अग्लो धातुको मुर्ति बनाउन लागिएको हो ।

हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै बुद्धको मुर्ति निर्माण समितिका संयोजक तथा समाजसेवी कमलचन्द्र सुमनले सबै पत्रकारहरुलाई सहयोगको लागि आग्रह गरे । उनले हालसम्म १ लाख ५० हजारभन्दा बढी रकम संकलन भइसकेको पनि बताए ।

मुर्ति निर्माणका लागि काठमाण्डौंस्थित विभिन्न लायन्स क्लवका सदस्यहरुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको जानकारी दिइएको छ । साथै विभिन्न अन्तराष्ट्रिय सञ्जालहरुबाट समेत सहयोगको प्रतिबद्धत्ता आएको उनको भनाई छ । सहयोग संकलनकै लागि शान्ति दौडको आयोजना गरिनुका साथै काठमाडौँबाट सुरु भएको साईकल र्याली समेत यसै गुम्बा परिसरमा समापन हुने बताइएको छ ।

रिहो गुम्बा विकास समितिको आयोजनामा भएको पत्रकार सम्मेलन समितिका अध्यक्ष मंगलसिं लामाको अध्यक्षता र गुम्बाका प्रमुख लामा कुन्साङ लामाको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा समितिका सचिव धनबहादुर घलान, गुम्बा पुननिर्माण समिति संयोजक तथा मूर्ति निर्माण समितिका आर्थिक संयोग बिजय पाख्रिन, विशेष सहयोगी राजेश मग्राती, समितिका उपाध्यक्ष रेणुका दोङ, कोषाध्यक्ष रामबहादुर घलान तथा सदस्यहरु लक्ष्मी थिङ, जीतबहादुर लो र सल्लाहकार प्रेमबहादुर लामा लगायतको सहभागीता रहेको थियो ।

बाईसे चौबिसे राज्य अस्तित्वमा रहेका बेला पृथ्वी नारायण शाहले मकवानपुरगढी आक्रमण गरेका समयमा समेत घमासान युद्ध भएको ऐतिहासिक कडीका रुपमा जोडिएको गुम्बा डाँडामा यस अघि नै विभिन्न देशका कला साधकहरुले सुन्दर मुर्ति कुँदेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*