स्नातकोत्तरमा ‘प्राइभेट’ पढ्नेलाई अन्तिम मौका परीक्षा

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीले यो वर्ष पनि ‘प्राइभेट’ फारम भरेर परीक्षा दिन पाउने भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह प्रथम वर्षका लागि गत साता परीक्षा फारामको लागि आवेदन खुल्ला गरिसकेको छ। बैशाख १६ गतेभित्र परीक्षा फाराम भरिसक्नुपर्ने त्रिविले जनाएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन (मास्टर्स अफ पब्लिक एड्मिनिस्टेरेसन) विषयमा मात्र प्राइभेटतर्फ परीक्षा दिन पाइनेछ । अन्य विषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राइभेट परीक्षाको व्यवस्था गराउन नसकिएको जोशीले बताए।
जोशीका अनुसार प्राइभेट परीक्षा फारम भर्ने यो अन्तिम मौका हो । आउँदा शैक्षिक सत्रदेखि विद्यार्थीहरूले प्राइभेटतर्फ फारम भरेर परीक्षा दिन पाउने छैनन् । क्याम्पस नगइ स्वअध्ययन गरेर परीक्षामा मात्र सहभागी हुन चाहने विद्यार्थी यस कार्यक्रमबाट लाभान्वित हुने गरेका छन् ।
विशेषगरी सरकारी तथा निजी क्षेत्रमा रोजगारीमा लागेका कर्मचारी, सेना, प्रहरी लगायतका सेवामा लागेकाहरूका लागि यो कार्यक्रम लोकिप्रय छ ।