‘बुद्धको उपदेशलाई व्यवहारमा लागु गरौँ – उपसभामुख तामाङ

हेटौडा (मनहरी) – प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले गौतम बुद्धको उपदेशलाई जीवनमा लागु गर्न आग्रह गरेकी छिन् । चैत्र २२ गतेदेखि मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित रुञ्चेडाँडामा भएको महायज्ञ बुद्ध वचन (भुम) महा प्रज्ञापरामिता पाठको समापन कार्यक्रममा बोल्दै उनले त्यस्तो आग्रह गरेकी हुन् । ‘महायज्ञ पुजाबाट प्राप्त ज्ञानलाई जीवन र व्यवहारमा लागु गर्न म सबैलाई आग्रह गर्छु’ उनले भनिन्,–‘ हामीले विभिन्न ठाउँमा पुजा गर्यौँ तर तर पुजा गर्ने र उपदेश सुनाउने मात्र काम भयो, अब यसलाई जीवनमा लागु गरौँ ।’
गौतम बुद्धको उपदेशलाई शिरोपर गर्ने कार्यको कमि भएको भन्दै उपसभामुख तामाङले विभिन्न ठाउँमा पुजा भएतापनि पुजा सकिएको भोलिपल्टदेखि नै त्यो पुजा किन भएको भन्ने कुरा नै बिर्सने गरेको गुनासो गरिन् । महायज्ञ पुजाबाट पाएको ज्ञान जीवन व्यवहारमा उतार्ने कुरा चुनौतिपूर्ण भएता पनि त्यसलाई जीवनमा उतार्न उनले पहल गरिन् ।
‘बुद्धको उपदेशलाई हामीले सहि तरिकाले बुझ्न सकेनौँ’, उनले भनिन्, –‘नेपालमा बुद्धको सिद्धान्तलाई खाली हामीले पुजा मात्र गर्यौँ कि जस्तो लागेको छ ।’ तामाङ समुदायले बोन धर्मबाट बुद्धधर्मलाई अपनाएता पनि अहिले अधिकांश तामाङहरु क्रिश्चियन धर्मतर्फ आकर्षित भएको पनि उनले बताईन् । तामाङ समुदाय किन क्रिश्चियन धर्मतर्फ आकर्षित भए त्यसको समिक्षा गर्न जरुरी रहेको उनले बताईन् । क्रिश्चियन धर्ममा तामाङ समुदाय लागेकोमा विरोध भन्दा पनि समिक्षा गर्न जरुरी रहेको उनले बताईन् । ‘प्राकृतिक धर्म छोडेर किन त्यतातर्फ लाग्यो समिक्षा गरौँ , मेरो भूमिका के रहन्छ ? छलफल गर्न तयार छु’ उनले भनिन् ।
उपसभामुख तामाङले प्राकृतिक धर्मको संरक्षण गरेमा नेपालीहरुले दुनियाँ सँग हात फैलाउनु नपर्ने दाबी गरिन् । तामाङ समुदायले आफैलाई नुबझेको बताउँदै उनले त्यसको निश्कर्ष निकाल्न जरुरी रहेको औँल्याईन् ।
धर्मलाई राम्रोसँग नअंगालेकोतर्फ संकेत गर्दै उनले सैद्धान्तिक तबरले स्पष्ट नभएकोले तामाङ समुदाय रुमल्लिएको हुनसक्ने बताईन् । तामाङ समुदायको धर्ममा आएको समस्या समाधानका लागि धार्मिक गुरु र नेताहरुबिच छलफल र समिक्षाको आवश्यकता भएको र गाउँगाउँमा प्राकृतिक धर्मको संरक्षणका लागि लाग्न उनले जोड दिईन् । उनले बुद्धको उपदेश वैज्ञानिक भएको समेत जिकिर गरिन् ।
मनहरीको रजैया र ५ नम्बर वडा जोड्ने पक्की पुल नभएको भन्दै उनले विकासको ठूलो सम्भावना भएको ठाउँमा पनि विकास नभएकोमा आफुलाई पिडा महशुस भएको बताईन् । उनले उक्त स्थानको विकासका लागि पूर्व माननीय र माननीयहरुलाई आग्रह गर्दै रजैया र ५ नम्बर जोड्ने पक्की पुल निर्माणमा आफुले पनि अहम भूमिका खेल्ने बताईन् ।
उनले गाउँमा साँस्कृतिक संग्रहलाय निर्माण गर्न समेत जरुरी छ रहेको बताईन् । साथै तामाङ लिपिमा समेत विवादित भएको बताउँदै उनले विवादलाई चाँडो समाधान गर्न जोड दिईन् । तामाङ लिपिमा विवाद भएमा आगामी पुस्तालाई के हस्तान्तरण गर्ने ? भन्दै उनले प्रतिप्रश्न गरिन् । उनले साँस्कृति संग्रहालय र गुम्बालाई अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताईन् ।
गुम्बामा बत्ति बाल्न मात्र जाने नभई ध्यान गर्न र ज्ञान लिन पनि जानुपर्ने उनले बताईन् । लामा गुरुले मात्र नभई समस्त नागरिकले पनि ध्यानको माध्यमबाट ज्ञान प्राप्त गर्न सक्ने उनले बताईन् । कार्यक्रममा स्थानीय समाजसेबी, बुद्धिजिबी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, लगायत विभिन्न संघसस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।